न्यायाधीशहरुलाई गगन थापाको आग्रह– धर्म नछाडिबक्स्योस्, विवेक लगाइबक्स्योस्


बुटवल– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद् विघटनका बारेमा प्रधानन्यायाधीशले अदालतमा ‘बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् भंग गर्छु, सरकार चलाउँदिनँ भन्दा के गर्ने’ भन्ने प्रश्नको उत्तर दिन आफूूलाई हुटहुटी लागेको बताएका छन्। 

नेपाली कांग्रेस बुटवलले आयोजना गरेको विरोध सभामा थापाले भने, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् भंग गर्छु, सरकार चलाउँदिनँ भने के भन्ने ? श्रीमानको प्रश्नमा मेरो उत्तर हो– बहुमत प्राप्त प्रधानमन्त्रीले भंग गरे घर जाने, घर बस्न मन नलागे वन जाने।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अराजनीतिक र अनधिकृत भएको भन्दै उनले अदालत कुनै पनि हिसाबले प्रभावित हुन नहुने बताए। उनले बलियो प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकर नै नभएको बताए। ‘बलियो होइन, निरीह र कमजोर प्रधानमन्त्रीले मात्र संसद् विघटन गर्न सक्छ,’ नेता थापाले भने । उनले कुनै पनि वहानामा संसदलाई प्रधानमन्त्रीले छुन नपाउने बताउँदै अनधिकृत र असंवैधानिक कदम भएकै कारण पूर्व प्रधान न्यायाधीशहरु बोलेको तर्क गरे।

थापाले प्रधानमन्त्रीको कदम असंवैधानिक र अराजनीतिक भएकाले अदालतलाई कहिँबाट पनि प्रभावित नहुन चेतावनी दिए। अदालतका बारेमा बाहिर बोल्दा अदालतलाई प्रभावित बनाउन खोजेको आरोप लाग्ने गरेको बताउँदै नेता थापाले भने, ‘बन्द कोठाको खासखुसबाट पनि प्रभावित नहोस्।’ उनले अदालतप्रतिको आस्थालाई बचाउन समेत अनुरोध गरे। उनले प्रधानमन्त्री ओलीको कदम साढे दुई वर्षको अवधिमा आफ्नै दलका नेताहरुले प्रश्न नगरेका कारण उत्पन्न भएको बताए। 

नेता थापाले विगतमा अदालत, निर्वाचन आयोग, सभामुख र उपसभामुखका विषयमा आफू संसदमा बोल्दा व्यंग्यको पात्र बनाइएको बताए। तर, अहिले ओली प्रवृत्तिले देशलाई दुर्घटनातर्फ लगेको उनको भनाइ छ। उनले न्यायाधीशप्रति लक्षित गर्दै भने, ‘धर्म नछाडिबक्स्योस्, विवेक लगाइबक्स्योस्। संविधान बाहिरको निर्णय नगरियोस्।’ उनले प्रतिनिधिसभा विघटनको मुद्दामा छिटो फैसला गर्नुपर्नेमा जोड दिए।

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको सडकमा आयोजित विरोधसभामा नेता थापाले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्रीको फोटोकपी भएको टिप्पणी गरे। उनले प्रदेशको विकास निर्माणमा भन्दा नेकपाभित्रको पार्टी विवाद हुँदा प्रधानमन्त्रीलाई बचाउन लागिपरेको बताए। उनले मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको फोटोकपी नबन्न आग्रह गरे। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button