बालुवाटारबाट ‘श्री सीताराम शोभा रथयात्रा’ सुरु भएको छ।

काठमाडौं : बालुवाटारबाट ‘श्री सीताराम शोभा रथयात्रा’ सुरु भएको छ। चितवनको अयोध्या लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरेपछि रथयात्रा सुरु भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमै ओलीले राम, सीता, लक्ष्मण र हनुमानको पूर्ण कदका मूर्ति हस्तान्तरण गरेपछि रथसहितको कलशयात्रा चितवनतर्फ लागेको हो।
मुर्ति बुधबार रामनवमीको अवसरमा स्थापना गर्न लागिएको छ। ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्यालीसहित सीता-रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ।
प्रधानमन्त्री ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको पटक-पटक दाबी गर्दै आएका छन्। अयोध्यामा राम मन्दिर बनाउने पनि सरकारको तयारी छ। मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति र सामाजिक सङ्घ संस्थाको समन्वयमा तयारीका काम अगाडि बढिरहेका छन्।

कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्न तयारी भइरहेको अयोध्याधाम व्यवस्थापन समिति प्रचारप्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए।माडी र र्यालीको बाटोमा पर्ने भरतपुर महानगरकाका वडामा स्वागत राखिएको माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए।
निर्माण कार्य तीव्ररुपमा अगाडि बढेपछि अवलोकन गर्न आउनेको पनि चहलपहल बढेको छ।