देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन्, अब ओलीसँग सम्झौता हुँदैन् : माधव नेपाल


काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्विकार नगरेसम्म अब वार्ता तथा सहमति हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । अहिले सहमति हुन लाग्यो भनेर गरिएको प्रचार अफवाहमात्रै भएको नेता नेपालको दाबी छ । उनले यस्तो प्रचारमा कुनै सत्यता नभएको भन्दै भ्रममा नपर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रहसमेत गरेका छन् ।

उनले आफूसहित विभिन्न नेताहरुमाथि गरिएको कारबाही फिर्ता नभएसम्म वार्ताको टेबुलमा नबस्नेसमेत स्पष्ट पारे । उनले ओलीको सिद्धान्त र नीति भनेको नै ‘फुटाउ र राज गर’ भन्ने रहेको भन्दै आफूहरु ओलीको ललिपप र उनले खेल्ने कार्डको पछि नलाग्ने बताए ।

उनले भने,‘माधव नेपालले कुनै पनि हालतमा शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिँदैन् । म ब्याक हुन्नँ । अहिले ओली र मबीच सहमति हुन लाग्यो भनेर चर्चा चलेको छ, यो सबै हल्ला हो । अफवाह हो । उहाँ (केपीजी) को सिद्धान्त भनेको नै फुटाउ र राज गर भन्ने हो । अब त्यो असम्भव छ । माधव नेपाल कुनैपनि ललिपपको पछि लाग्दैन् ।’

नेता नेपालले आफूलगायत विभिन्न नेताहरुमाथि गरिएको कारबाही फिर्ता नभएसम्म ओलीसँग वार्ताको सम्भावना नरहेको पनि स्पष्ट पारे । उनले भने,‘जबसम्म मलगायतका साथीहरुलाई गरिएको निलम्बन फिर्ता हुँदैन्, तबसम्म वार्ताको टेबुलमा माधव नेपाल बस्दैन् । यो हाम्रो बटमलाईन हो । म मात्रै होईन, हाम्रो कोहीपनि सदस्यहरुले वार्ता गर्दैनन् ।’

उनले पछिल्लो समय ओली पक्ष र आफ्नो पक्षका दोस्रो तहका नेताहरुबीच एकताको लागि वार्ता भैरहेको समाचार आएकोप्रति टिप्पणी गर्दै भने–‘वार्ता हाम्रो साथीहरुले गर्नुभयो होला, तर सहमति हुन लाग्यो भनेर जुन हल्ला चलाईएको छ, यो बास्तवमा अफवाह मात्रै हो । त्यसमा कुनै सत्यता छैन् । केही साथीले भेटे होलान्, तर संस्थागत रुपमा आज झलनाथ खनाल र माधव नेपालले ओलीसँग वार्ता गरेका छैनन् । यो कुरा सबैले बुझ्नुपर्छ ।’

उनले आफूहरु कुनैपनि हिसाबमा कमजोर नरहेको दाबी गरे । उनले भने,‘हामी कहाँ कमजोर छौं ? झलनाथ खनाल र माधव नेपालले नेतृत्व गरेको समूह कमजोर छैन् । यो कुरा सबैले हेक्का राखे हुन्छ । हामीसँग झलनाथ खनाल, अमृत बोहरा र मुकुन्द न्यौपानेजस्तो पहिलो पुस्ताका साथीहरु हुनुहुन्छ । दोस्रो पुस्तामा घनश्यामजी लगायत एकसे एक नेता हुनुहुन्छ । अहिले तेस्रो र चौथो पुस्ताको पनि हामीलाई अपार साथ, सहयोग र समर्थन छ ।’

नेता नेपालले ओलीले आफू कमजोर हुने महसुस भएपछि मात्र सहमतिको नाटक गर्ने गरेको पनि टिप्पणी गरेका छन् । पछिल्लो समय जेठ २ गते फर्कन आफू तयार रहेको भनेर ओलीले त्यही कार्ड फ्याँकेको उनको भनाई छ । उनले ओली एकताकोलागि बास्तवमा उदासिन रहेको आरोप लगाए ।
नेता नेपालले ओली एकपछि अर्को गरेर संविधान कुल्चिने काममा लागेको पनि टिप्पणी गरेका छन् । ओलीले नेतृत्व गरेको गठबन्धन प्रतिगमनकारी र पश्चगमनकारी भएको उनको भनाई छ । कांग्रेस, माओवादी केन्द्र, आफूहरु, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित विपक्षी गठबन्धन भने लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको उनको दाबी छ ।

उनले भने,‘हामीले नेतृत्व गरेको गठबन्धन प्रगतिशील र लोकताीन्त्रक गठबन्धन हो । यो मूलधार हो । ओलीको त प्रतिगामी र पश्चमागीहरुसँग साँठगाँठ छ ।’ नेता नेपालले प्रधानमन्त्री ओलीले राष्ट्रियताको बारेमा आत्मसमर्पण गरेको गम्भीर आरोप लगाए । र, त्यसको पछिल्लो उदाहरण भने नेपालबाट ढुंगा, बालुवा र गिट्टी भारत निकासी गर्ने निर्णय गर्नु भएको पनि सुनाए ।

ओलीको यो कदम राष्ट्रघाती भएको उनको दाबी छ । भारतलाई खुशी तुल्याउनको लागि गरिएको यस्तो निर्णयले तराई/मधेशको जनजीवन प्रभावित बन्ने पनि उनले खतरा औंल्याए । चुरे खतरामा परेको भन्दै ओलीको उक्त कदमको नेता नेपालले घोर विरोध गरे । उनले भने–‘यो देश र जनताको लागि दुर्भाग्य हो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button