आफ्नै खेतमा २६ दिन पछि लास गाडिएको अवस्थामा फेला पर्यो सुजिताको
विगत २६ दिनदेखि बेपत्ता भएकी महिलाको शव आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। गत जेठ १९ गते देखि सम्पर्कविहीन भएकी लोहारपट्टी नगरपालिका– ७ भ्रमरपुरा घर भएकी २६ वर्षीया सुजिता देवी ठाकुरको शव माइती पक्षको सहयोगमा प्रहरीले फेला पारेका छन् । करिब ६ फिट खाल्डो खनेर शव खेतमा गाडिएको अवस्थामा फेला परेको छ ।
शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइए पनि पछि थप जाँचका लागि अन्यत्र पठाउन सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले वताए।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकको श्रीमान् मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई नियन्त्रणमा लिएको छ भने ससुरा पतिराम ठाकुर भने अझै फरार रहेको प्रहरीले जानकारी दिएका छन् ।
मृतकका माइती पक्षले हराएकै समयदेखि हत्या गरिएको भन्दै प्रहरीमा पटकपटक जाहेरी लिएर गए पनि प्रहरीले दर्ता गर्न मानेको थिएन । माइती पक्षकै दवावमा प्रहरीले शव गाडिएको शंकास्पद ठाउँमा खनेर हेर्दा फेला परेको छ ।
गत १९ जेठको बिहानै मृतकको घरमा मृतक र उनको देवर तथा ससुराबीच झगडा भएको मृतकका बुबा पिपरा गाउँपालिका– ६ रतौलीनिवासी कामेश्वर पाण्डेयले बताए । उनले झगडाको केही बेरपछि छोरीको ससुरासँग फोनमा कुरा भएको र उनले नै तपाईंको छोरीले झगडा गर्दै छ भनेको। तर केहीबेरपछि शान्त भएको भनि फोन गरेको बताए
उनले पछि छोरीसँग कुरा गराइदिन भन्दा विभिन्न वहाना बनाउँदै कुरा गराउन नमानेको र पछि अपराह्न फोन गर्दा तपाईंको छोरी घर छोडेर कुनै केटासँग हिँडेको बताएका थिए । केही गाउँकै मानिसले खेतमा खाल्डो खनिएको देखेपछि शव गाडिएको हुन सक्ने आशंका गरेको उनले बताए । उनले आफ्नो छोरीको शव गाडेर माथिबाट धानको बिउ राखेका थिए ।