सञ्चार श्रमिकका मुद्दालाई एकीकृतरूपमा उठान गर्न सरोकारवालाको जोड

काठमाडौँ- सञ्चार क्षेत्रका श्रमिकका मुद्दालाई एकीकृतरूपमा उठान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सञ्चार श्रमिकका मुद्दा उठानका लागि दर्जनौँ सङ्घ–सङ्गठन भए पनि एकीकृतरूपमा हुन नसकेको ठहर गर्दै उनीहरुले एकीकृतरूपमा उठान गर्नका लागि संयुक्त संयन्त्रको आवश्यकता औँल्याएका थिए ।पत्रकारका विभिन्न सङ्घ–सङ्गठनका प्रतिनिधिसँग छलफल गर्न युनिमी नेपालले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागीले सबै सङ्घ–सङ्गठनले आ–आफ्नो तरिकाले पत्रकार तथा सञ्चार श्रमिकका अधिकारका लागि सङ्घर्ष गरे पनि सन्तोषजनक उपलब्धि हुन नसकेको उल्लेख गरेका थिए ।
श्रमिकहरूको अन्तर्राष्ट्रिय सङ्गठन युएनआईको एशिया प्यासेफिक महासचिव राजेन्द्रकुमार आचार्यको आतिथ्यतामा भएको छलफलमा युनिमी नेपालका अध्यक्ष गोविन्द धितालले युएनआई र युनिमीको परिचय गराउँदै ती सङ्गठनले नेपालमा गरिरहेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।
अध्यक्ष धितालले मिडियाकर्मीहरुका समस्या समाधानमा सरोकारवाला सबै संघ, संगठनहरुबीच समन्वय र सहकार्य जरुरी भएको बताउनुभयो ।

युनि-एप्रोका महासचिव आचार्यले अन्तर्राष्ट्रियस्तरमा ट्रेड युनियनको क्षेत्रमा भइरहेको विकास र अभ्यासका बारेमा चर्चा गर्नुभएको थियो ।
उहाँले अन्य देशको तुलनामा नेपालमा श्रमिक पर्याप्त मात्रामा सङ्गठित हुन नसकेको र अधिकारकै बारेमा पर्याप्त जानकारी नभएकाले माग्न नसक्ने गरेको बताउनुभयो ।