सीमा बन्द भएपछि मेची पुलमा सर्वसाधारणको भीड


झापा – आइतबार हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावलाई ध्यानमा राखेर बिहीबार राति १२ बजेदेखि नै नेपाल–भारत सीमानाका बन्द गरिएपछि शुक्रबार बिहान नेपाल भारत जोड्ने मेची पुलमा आवतजावत गर्ने सर्वसाधारणको भीड लागेको छ।

औषधि उपचार गर्न हिँडेका तथा आँखाको उपचारका लागि नेपाल आएर भारततर्फ फर्कन लागेका, हवाईजहाज र रेलको टिकट बोकेका, भारतीय सेनामा कार्यरत नेपालीहरुको भीड लागेको हो।

चुनावलाई ध्यानमा राखेर नेपाल–भारत सीमानाका बन्द गरिएपछि आवतजावतमासमेत समस्या भएको थियो। मतदान नसकिएसम्म नाकाहरू बन्द हुने गृह मन्त्रालयले जनाएको छ।

पूर्वी नाका काँकरभिट्टा नाका भारतको पश्चिम बंगाल राज्यको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ।

भारतसँग नेपालको खुला सिमाना १ सय ४४ दशमलव शून्य २ किलो मिटर रहेको छ भने मेचीनगर नगरपालिकाक्षेत्रको ३४ किलो मिटर खुला सीमाना छ।

अत्यावश्यक सेवाका सवारी साधनलाई कुनै अवरोध नभएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। उनले भने, ‘हामीले आवश्यकताका आधारमा आवतजावतका लागि सहजीकरण गरिरहेका छौँ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button