बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय


ओखलढुङ्गा, चैत १३ गते । ओखलढुङ्गामा बलात्कारको झुटो आरोप लगाउने जाहेरीवाली महिलालाई कैद र जरिवानाको फैसला भएको छ । ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको इजलासले प्रतिवादीविरुद्ध बलात्कारको झुटो आरोप लगाउने जिल्लाको खिजीदेम्बा गाउँपालिकाकी २५ वर्षीया महिलालाई दुई महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको हो । 

उक्त महिलाले खिजीदेम्बा गाउँपालिका–३ चण्डेश्वरीका २३ वर्षीय फुरी शेर्पाले आफूलाई २०८० असोज १९ गते जबरजस्ती करणी गरेको भन्ने आरोपसहित गत असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा प्रहरीले आरोपित शेर्पालाई असोज २९ गते पक्राउ गरेको थियो ।

शेर्पालाई पक्राउ गरी प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत कात्तिक १९ गते जबरजस्ती करणी शीर्षकमा ओखलढुङ्गा जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको थियो । 

जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश टीकाराम आचार्यको आदेशमा कार्तिक १९ गते आरोपित शेर्पालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

अदालतमा भएको बकपत्रमा शेर्पाविरुद्ध बलात्कारको आरोप लगाउने जाहेरीवालीले आफूले झुटो आरोप लगाएको भनेर बयान दिनुभएको सूचना अधिकारी प्रमोद रिजालले बताउनुभयो । 

झुटो विवरणसहित मुद्दा दर्ता गरेकोले उनलाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ को उपदफा २ को खण्ड ‘क’ बमोजिम दुई महिना कैद सजाय र पाँच हजार जरिवाना भएको ओखलढुङ्गा जिल्ला अदालतका सूचना अधिकारी रिजालले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button