ज्ञानेन्द्र शाहीले सभामुखमार्फत फिर्ता पठाए भौतिक मन्त्रालयको बजेट पुस्तिका


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका फिर्ता पठाएका छन्।

बजेटप्रति चरम असन्तुष्टि रहेको भन्दै मंगलबारको जारी संसद बैठकमा खर्च कटौतिको प्रस्तावमा बोल्ने क्रममा बजेट पुस्तिका सभामुखमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री(रघुबीर महासेठ)लाई फिर्ता दिन भनेका छन्।

उनले भने,‘यो किताव मन्त्री ज्यूलाई सिधै दिन मिल्दैन म सभामुख ज्यू मार्फत भन्न चाहन्छु, म सिंगो कणार्लीको तर्फबाट र जुम्लाको तर्फबाट यो बजेट जस्ताको त्यस्तै मन्त्रीज्यूलाई फिर्ता पठाउँछु चाहिँदैन बजेट।’

यस्तै शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिएका छन्। मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको बताएका हुन्।

उनले कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिएमा कर्णाली प्रदेशमा क्षेत्रिय दल बन्न सक्ने चेतावनी दिए। उनले सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दा कम बजेट गएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो? भनि प्रश्न गरे।

शाहीले भने,‘भौतिक मन्त्री नेपालको हो कि धनुषाको मन्त्री हो? म आज सभामुखलाई भन्न चाहान्छु, यो भाषा कर्णालीको हो। यो भाषा संसदमा नबोल्नुस्। संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईहरुले आफ्नो भाषा निर्माण गर्नुस्। यो जुम्लाको सिँजा, कर्णालीबाट आएको भाषा हो। याद दिलाउन चाहान्छु, २०५६ सालमा कर्णालीका ५ जिल्ला एमालेका लालकिल्ला थियो ।’

‘२०६४ सालमा माओवादीको किल्ला भएको कर्णाली जब राज्यसत्ताले कर्णालीले आज प्रचण्डलाई प्रचण्ड बनाएको हो। कर्णालीको गल्ली गल्लीमा जनताले रगत बगाएर आज माओवादीका साथीहरु यहाँ मन्त्री बन्नुभएको हो। तर आज तिनै माओवादीका अध्यक्ष प्रधानमन्त्री भइरहँदा, केपी ओली सत्तापक्ष दलको संसदीय दलको नेता  भइरहँदा कर्णालीलाई बजेट उपेक्षित गरिन्छ भने यहाँ कुनै पार्टी रहेन। कुनै दल रहेन। अब यही अवस्था यदि सिर्जित हुन्छ भने कर्णालीमा आफ्नो क्षेत्रिय दल बन्न सक्छ।’

उनले कर्णाली प्रदेशलाई अपमान गर्ने भए कर्णाली प्रदेशको सिंजाबाट आएको नेपाली भाषा नबोलि आफ्नै भाषा निर्माण गर्न पनि उनले चेतावनी दिए। देश सञ्चार


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button