अपमान सहेर पनि पार्टी एकता जोगाउँदै आएको छु : प्रचण्ड, प्रस्ताव फिर्ता हुँदैन, सबैको स्वामित्व छ– नेपाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत पक्षधरहरूले पार्टी विभाजनको आधार फराकिलो बनाउँदै लगेका छन् । उनीहरूले तलतल भेला, बैठक, अन्तरक्र्रिया राखेर पार्टीभित्र जारी विवाद प्रस्ट्याउन थालेका हुन् ।
यसै क्रममा बिहीबार वागमती प्रदेशस्तरीय भेलाको आयोजना गरेका छन् । भेलामा प्रदेशका १४ जिल्लाका इन्चार्ज, सहइन्चार्जहरू, अध्यक्ष र सचिवहरूको उपस्थिति रहेको थियो । भेलालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरेको काठमाडौंका जिल्ला पार्टी सचिव हिमाल शर्माले जानकारी दिए ।
भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले अनेकौंपटक अपमान सहेर भए पनि पार्टी एकतालाई जोगाउँदै, बचाउँदै आएको बताएको शर्माको भनाइ छ । अहिले पनि पार्टी एकता बचाउन हदैसम्म कोसिस गरिरहेका बताउँदै ओलीले फुटको सबै तयारी पूरा गरिसकेको बताएका थिए । ओलीको चाहना पार्टी फुटमै जाओस् भन्ने रहेको प्रचण्डको प्रस्टोक्ति थियो ।
“अपमान सहेर भए पनि एकता जोगाउनुपर्छ भन्नेमा हामी छौं । मैले प्रयत्न गरिराखेकै छु,” प्रचण्डको भनाइ उद्धृत गर्दै शर्माले बाह्रखरीसँग भने, “अहिले पनि हाम्रो कोसिस पार्टी एकताकै लागि छ । स्थायी कमिटी बैठकले पनि त्यही कोसिस गरिरहेको छ । अन्तिमसम्म एकता बचाउन नै प्रयत्न रहेनछ । तर, हाम्रो मात्रै कोसिसले एकता जोगिने होइन, उता प्रधानमन्त्री ओली पक्षतिर)बाट त प्रयत्न त भइराखेकै छ ।”
भेलामा प्रचण्डले अहिलेको विवादलाई सैद्धान्तिकीकरण गर्ने प्रयत्न गरेका थिए । अहिलेको लडाइँ समाजवादको आधार तयार गर्ने कि पुँजीवादतिरै फर्कने भन्ने भएको बताउँदै ओली पछाडि हट्न चाहेको आरोपित गरेका थिए । यसलाई पदको लडाइँकारूपमा मात्रै नबुझ्न आग्रह गरेका थिए ।
सचिवालय हुँदै स्थायी कमिटीमा पेस गरिएको दस्तावेजमै अडिँदै प्रचण्डले भेलामा भनेको शर्मा उद्धृत गर्छन्, “प्रधानमन्त्री ओलीलाई समाजवादमा जान मन छैन । उहाँ पछाडि फर्कने, दलाल पुँजीवादलाई संरक्षण गर्ने प्रयत्न गरिराख्नुभएको छ । अतः हाम्रो अहिलेको अन्तरविरोध फगत पदको लडाइँ होइन । सैद्धान्तिक अन्तरविरोध नै हो ।”
वरिष्ठ नेता नेपालले कुनै हालतमा सचिवालय हुँदै स्थायी कमिटीमा पेस भएको राजनीतिक दस्तावेजहरू फिर्ता नहुने अडान लिए । उनले प्रस्तावलाई आरोपपत्र भन्ने प्रयत्न भइराखेको बताउँदै प्रचण्डले प्रस्तुत गरेको दस्तावेज साझा प्रतिवेदन भएको जिकिर गरेका थिए ।
“प्रचण्डले अघि सार्नुभएको दस्तावेजलाई आरोपपत्र भन्ने कोसिस भइरहेको छ । त्यो प्रस्ताव हो । साझा प्रस्ताव हो,” नेता नेपालको भनाइ उद्धृत गर्दै शर्माले बाह्रखरीसँग भने, “त्यो प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन । त्यसलाई तलतल बहसका रूपमा लैजानुपर्छ । आम कार्यकर्ताले त्यसआधारमा धारणा बनाउनुपर्छ ।”
त्यस्तै नेता नेपालले आरोपको थालनी ओलीले नै गरेको प्रस्ट्याएका थिए । बैठक राख्न माग गर्दा ओलीले आरोप पत्र पठाएर सुरुआत गरेको उनको भनाइ थियो । उनले विधानको धारा ६० अनुसार कमिटीले निर्णय गरेर अघि बढ्ने समेत प्रस्ट्याएका थिए ।
भेलालाई तीव्रता
बिहीबारको भेला नेतृत्वको निर्देशनमा नभइ इन्चार्ज र जिल्ला नेतृत्वको चाहनामा भएको शर्माको भनाइ छ । पार्टीभित्र हुर्किइराखेको अन्तरविरोधबारे कार्यकर्ता पंक्ति अनभिज्ञ रहेको बताउँदै त्यसबारे प्रष्ट हुन पनि भेला, बैठक राखिएको उनको भनाइ थियो ।
“माथि असन्तुष्टि बढिरहेको छ । अन्तरविरोध बढिरहेको छ । तल कार्यकर्तालाई थाहा छैन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको साइडबाट मदन भण्डारी फाउन्डेसनका नाममा धमाधम भेला, बैठकहरू भइराखेका छन् । हामी अनभिज्ञ छौँ । अतः हामीले नै दुईजना नेता आएर बुझाइदिनुपर्यो भनेपछि भेला भएको हो,” शर्मा भन्छन् ।
भेलामा प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र प्रदेश अध्यक्ष नारायण दाहाल पनि सहभागी थिए । काठमाडौं जिल्ला कमिटीका कार्यालय सदस्य महेश्वर फुयालले अब तलैसम्म भेला, बैठक राख्ने जानकारी दिए । मङ्सिर २० गते काडमाडौं क्षेत्र नम्बर ३ मा भेला आयोजना भएको बताउँदै पुस ३ गते काठमाडौं क्षेत्र नम्बर २ मा त्यस्तै भेलाको आयोजना गरिएको जानकारी दिए ।
“अब भेला, बैठकमार्फत् हामी हाम्रा कुराहरू राख्छौं । कार्यकर्तालाई एक ढङ्गले प्रशिक्षित गर्छौं,” फुयालले बाह्रखरीसँग भने ।