उपत्यकामा वायु प्रदूषण : स्वास्थ्य मन्त्रालय भन्छ- केही दिन मर्निङ वाकमा ननिस्कनू

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा वायु प्रदूषणको बढेको भन्दै सावधानी अपनाउन अपिल गरेको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईले वायुप्रदुषणले श्वासप्रश्वासमा कठिनाइ लगायतका स्वास्थ्य समस्या देखा पर्ने भन्दै विभिन्न सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरेको हो।
काठमाडौं उपत्यकामा दुई दिनदेखि वायु प्रदूषणको स्तर उच्च भएको भन्दै वातावरण विभागले समेत सर्वसाधारणलाई सावधानी अपनाउन सचेत गराइसकेको छ।
स्वास्थ्य मन्त्रालयले मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोक्न, फोहोरहरुको उचित व्यवस्थापन गर्ने तर नजलाउने, घरबाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र कोभिड-१९ का लागि तोकिएको जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
साथै, धुलो धुँवा उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगत गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।