नेपाल-भारत संयुक्त आयोग बैठक: खोपको आश्वासन, सीमाबारे पनि छलफल
नयाँदिल्ली: भारत भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।
भेटको क्रममा भारतले नेपाललाई कोभिडको खोप उपलब्ध गराउने बारे आश्वासन दिएको बताइएको छ । साथै सीमाबारे पनि छलफल भएको भारतसथित नेपाली दूतावासले जनाएको छ ।
यसअघि नेपालको परराष्ट्र मन्त्रालयले सीमा विवाद, व्यापार, कृषि, उर्जा, कोभिड खोप, पारवहन लगायत विषयमा छलफल हुने विज्ञप्तिमार्फत जनाएको थियो । तर भारतको विदेश मन्त्रालयले शुक्रबार ज्ञवाली दिल्ली प्रस्थान गरेपछि नै सीमाबारे छलफल नहुने प्रतिक्रिया दिएको थियो ।
विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले संयुक्त आयोगको बैठक सीमा विवादबारे छलफल गर्ने मञ्च नभएको प्रतिक्रिया दिएका थिए ।
कोभिड संकटपछि भारत भ्रमण गर्ने ज्ञवाली पहिलो उच्चपदस्थ नेपाली अधिकारी हुन् । यसअघि भारतीय विदेश सचिव, सेना प्रमुख लगायत उच्चपदस्थ अधिकारीले नेपाल भ्रमण गरिसकेका थिए ।
गत वर्ष नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई समेटेर आफ्नो नक्सा जारी गरेपछि दुई देशबीच विवाद बढेको थियो । तर पछिल्लो समय दुई देशका प्रतिनिधिहरुबीच संवाद र भेटवार्तासँगै सम्बन्ध सुध्रिएको बताइँदै आइएको छ । झन्डै एक वर्षदेखि दुई देशबीचको सम्वाद र सम्बन्ध सहज हुन नसकिरहेका बेला नेपालको तर्फबाट पहिलोपटक यो स्तरको भ्रमण भएको हो। यो बीचमा दुईपक्षीय संयन्त्रका नियमित बैठक तथा छलफलसमेत अवरुद्ध भएका थिए। तीमध्ये संयुक्त आयोग सबैभन्दा महत्वपूर्ण संयन्त्र हो।
आयोगले राजनीतिक, सीमा, सुरक्षा, परियोजनालगायत नेपाल र भारतबीचका धेरै विषयलाई समेट्को छ।साथै बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड–१९ मा सहयोग, पूर्वाधार, आपसी सम्पर्क, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायत विषयमा समेत छलफल हुनेछ ।