रामकुमारी झाँक्रीलाई रिहा गर्ने तयारीमा

झाँक्रीलाई प्रहरीले घरमै लगेर छाडिदिने तयारी गरेको छ।


काठमाडौं : राज्यविरुद्धको कसुरको दफा ५८ अन्तर्गत बिहीबार मध्यान्ह घरबाटै पक्राउ परेकी नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले घरमै लगेर छाडिदिने तयारी गरेको छ।

नेकपा दाहाल-नेपालका कुनै पनि नेताले उनलाई जिम्मा नलिने अडान लिएपछि महानगरीय प्रहरी अपराध महाशाखाले शंखमुलस्थित उनकै घरमा लगेर छाडिदिने तयारी गरेको हो।झाँक्रीको अवस्था बुझ्न पुगेका दाहाल-नेपाल नेकपाका नेता योगेश भट्टराईले पनि रामकुमारीलाई रिहाइका लागि जिम्मा नलिने अडान लिएका छन्।

दाहाल-नेपाल समूहका कुनै नेता जिम्मा लिन तयार नभएपछि महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले नेता सुरेन्द्र पाण्डेलाई फोन गरेका छन्।

पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेलाई फोन गरेर एसएसपी थापाले रामकुमारीलाई जिम्मा आग्रह गरेका थिए। तर पाण्डेले फरकधारसँग कुरा गर्दै नेकपाका कुनै पनि नेताले उनलाई जिम्मा लिएर रिहा नगराउने जानकारी दिए।

हो मलाई महाशाखा प्रमुखको फोन आएको थियो। तर हाम्रो पार्टीका कुनै पनि नेताले जिम्मा लिँदैनौँ’, उनले भने, ‘त्यसपछि महाशाखा प्रमुखले झाँक्रीलाई उनकै घरमा लगेर छाडिदिने कुरा गर्नु भएको छ।

महाशाखामै रहेका नेकपा दाहाल-नेपालका नेता योगेश भट्टराईले रामकुमारीले कुनै अपराध नगरेको भन्दै रिहाइका लागि जिम्मा नलिने अडान लिएका छन्। अनेरास्ववियुका एकजना नेता वसिम आलमले प्रहरीले जिम्मा लिएर लैजान भनिरहे पनि त्यसमा आफूहरु तयार नहुने बताएका छन्।

झाँक्रीको गिरफ्तारीलाई लिएर नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणले पनि आक्रोश पोखिरहेका छन्। चौतर्फी दबाब परेपछि प्रहरीले झाँक्रीलाई सोधपुछ गरेर छाड्ने तयारी गरिरहेको महाशाखा श्रोतले जनाएको छ।

आज रिहा नभए झाँक्री आइतवारसम्मै प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button