ओली पक्षका कार्यकर्ताले कांग्रेसको सभामा ढुंगामुढा गर्दा नेता एनपी साउदसहित दुईजना घाइते

बैतडी – बैतडीमा नेपाली कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओली समूहका कार्यकर्ताबीच झडप भएको छ । डिलाशैनी गाउँपालिकामा केन्द्रीय सदस्य एनपी साउद सहभागी कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समूहका कार्यकर्ताले एक्कासी आक्रमण गरेका कांग्रेसले आरोप लगाएको छ ।
ओली पक्षका कार्यकर्ताले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला सङ्ग्रौला, बैतडीका सभापति नरेन्द्रजङ्ग थापा, नेविसङ्घका पूर्वसभापति नैनसिंह महरलगायत सहभागी कार्यक्रममा ढुङ्गामुढा गर्दा केही नेता घाइते भएका कांग्रेसले जनाएको छ । ओली समूहका कार्यकर्ताले नेताहरू चढेको गाडीमा समेत तोडफोड गरेका कांग्रेसको आरोप छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । घटनामा तीन जना सामान्य घाइते भएको पनि उहाँले बताउनुभयो ।
यसैबीच कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत घटनाको निन्दा गर्दै सत्तामै रहेको पार्टीबाट भएको यो आक्रमणमा केन्द्रीय नेतृत्वकै शैली देखिएको बताउनुभएको छ । उहाँले डिलाशैनी घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरेर कारबाही गर्न पनि माग गर्नुभएको छ ।