सडक विभागले पिच गर्न थालेपछि सोही विषयलाई लिएर सडक विभाग र नगर प्रहरीबिच विवाद भएको छ ।
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले फुटपाथ अर्थात पैदल यात्री हिँड्ने सडक पेटी फराकिलो बनाउन भन्दै भत्काएको बाटो सडक विभागले पुन: कालोपत्रे गरेको छ ।
फुटपाथ बढाउन महानगरपालिकाले सवारी साधन गुड्ने सडकलाई केही साँघुरो पार्ने र व्यवस्थित बनाउने भन्दै केही समय अघि भत्काएपछि सडक विभाग र महानगरपालिकाबीच विवाद चर्किएको थियो ।
विवादकै बीच सडक विभागले महानगरपालिकाको काम रोकेन मात्र पैदल यात्रुका लागि भनेर खुला गरिएको बाटो फेरि सवारी साधन गुड्ने सडक नै बनाइ दियो ।
सडक विभागले पिच गर्न थालेपछि सोही विषयलाई लिएर सडक विभाग र नगर प्रहरीबिच विवाद भएको छ ।
काठमाडौँ महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ मा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशालबजार अगाडिको सडकको कालोपत्रे काटेको थियो ।
भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि विभागले आफैं कालोपत्रे गर्न थालेको हो ।
सडक विभागले बाटो कालोपत्रे गर्न शुरु गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्नुभएको छ ।
मेयर शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्नुहुँदै गिरीबन्धु टी-स्टेटको अरबौँ रुपैँया बराबरको घोटलाको विषयान्तर गर्न सरकारले महानगरपालिकाको काममा बाधा पुर्याएको उल्लेख गर्नुभएको छ।।