किसानको गहुँबाली नष्ट गर्ने मन्त्री प्रभु साहलाई बर्खास्त गर्न मन्त्री योगेन्द्र यादवको माग

ओम प्रकाश यादव
फागुण २१ गते, रौतहट ।प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघका शहरी विकास मन्त्री प्रभु साहलाई बर्खास्त गर्न माग गरेका छन ।
कृषि प्रधान देशमा कृषिमै आश्रित रहेका किसानहरुको गहुँबाली नष्ट गरेको भन्दै शहरी विकास मन्त्री साहलाई तत्काल बर्खास्त गर्न राज्य मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
जिल्ला सहकारी संघ लि. धनुषाको वार्षिक साधारण सभालाई आज शुक्रवार जनकपुरमा उदघाटन गर्दै राज्यमन्त्री यादवले कृषकको गहुँबाली नष्ट गरेर मन्त्री प्रभु साह अपराध गरेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेका हुन ।
केहि दिन अघि मात्रै शहरी विकास मन्त्री साह गृह जिल्ला रौतहटको मौलापुर नगरपालिकामा शिवरात्रिको अवसरमा मेला लगाउन गरिव किसानले मिहिनत पसिना बगाएर लगाएको गहुँबालीमा डोजर लगाएका थिए ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री यादवले प्रभु साह भ्रष्टाचार, महिला हिंसा र ठगी गरेको समेत आरोप लगाएका छन ।उनले मन्त्री साह जस्ता भ्रष्टलाई बर्खास्त नगरे देशमा सुशासन कायम नहुने पनि बताए ।
चुनावका बेला एक महिलासँग मन्त्री प्रभु साहले ३० लाख रुपैया सापटी लिएको तर उक्त रुपैया फिर्ता नगरेपछि पीडित महिला मन्त्रालयमै पुगेर विष सेवन गर्ने प्रयास गरेको समाचार छापामाध्यममा समेत आइसककेको छ । महिलालाई ठगी गर्ने यस्ता कुसंस्कारी मन्त्रीलाई तत्कालै बर्खास्त गर्न मन्त्री यादवले जोडदार माग गरेका छन ।
राज्यमन्त्री यादवले भने, ‘वन मन्त्रीले रुखविरुवा कार्वनडाइअक्साइड दिन्छन् भन्ने अभिव्यक्ति दिदा आश्यर्च लागेको छ । शिक्षा मन्त्री पनि गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिडेका छन् । यस्ता मन्त्रीहरुलाई तत्कालै बर्खास्त गर्न प्रधानमन्त्रीसँग मेरो आग्रह छ ।
’संघको साधारण सभामा केहि असन्तुष्ट व्यक्तिले प्रदर्शन गर्दा उद्घाटन समारोह केहिबेर अवरुद्ध भएको थियो । तर सुरक्षाकर्मी प्रदर्शनकारीहरुलाई साइड लगाएपछि शान्तिपूर्ण तरिकाले संघको उद्घाटन सत्र सम्पन्न भएको छ ।