बेपत्ता रहेका झा दम्पतीको शव गाडिएको अवस्थामा भेटियो

१२ चैत, जनकपुरधाम । एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ ।
पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।
‘ठूलै खाल्डो खनेर शव पुरेको रहेछ’ उनले भने, ‘झा दम्पतीको घरभन्दा झण्डै साढे ३ किलोमिटर दूरीमा शव फेला परेको हो ।’
खाल्डो खनेर निकालिएको शवको दम्पतीको छोरा बुहारीले सनाखत गरेका छन् । गीतादेवीले लगाएको कपडा, पोते र चुराले उनको पहिचान भएको छ भने मुसाफिरले लगाएको टिसर्टले उनको पहिचान भएको प्रदेश प्रहरी प्रमुख सिंहले बताए ।
यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका छन् ।
पक्राउ परेका रामबाबु यादवको माध्यमबाट हरेन्द्रले प्लटिङको जग्गा खरिद गरेको र सो कारोबारमा हरेन्द्र र रामबाबु साझेदार रहेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ। सोही जग्गा बिक्री गर्न भनी रामबाबुले पनि पटकपटक मुसाफिर झा तथा उनकी श्रीमती गीता देवी झालाई दबाब दिएको देखिएको प्रहरीले जनाएको छ।
उनीहरुविरुद्ध चैत ५ गते झाको परिवारले अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको थियो ।
पक्राउ परेकामध्ये रामबाबु यादवको घरको विभिन्न स्थानमा फेला परेको रगतको छिटा मानव रगत नै भएको परीक्षणबाट पुष्टि भएको प्रहरीको भनाइ छ ।