शहिदनगरका मेयर बरबरियाले चढदै आएको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा
गाडीको आवश्यकता पर्नेले आजकै मितिबाट सिधा उनको मोवाइल नम्वर ९८५४०२९७६९ मा सम्पर्क गर्न समेत शहिदनगरबासीमा अपिल गरेका छन् ।

जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषा जिल्लास्थित शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले आफूले चढदै आएको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् ।
कोरोना भाइरसको दोस्रो लहरले विश्व नै आक्रान्त बनेको अवस्थामा एम्बुलेन्सको अभावमा ग्रामिण भेकका नागरिकहरु सास्ती सहित ज्यान गुमाउने स्थित आएको भन्दै उनले आफूले चढदै आएको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन् ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर बरबरियाले आफूले प्रयोग गर्दै आएको प्रदेश २–०२ ००१ झ ०००१ नम्बरको सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएर आम नागरिकलाई सहजता प्रदान गर्ने घोषणा गरेका हुन् ।
“दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । एम्बुलेन्स नपाएर कोरोना संक्रमित अस्पताल पुग्न नसक्दा ज्यान गुमाएको कैयौं समाचार पढ्न पाउदा अत्यन्त दुःख लागेको छ । भारतसँग सिमा जोडिएकाले धनुषाका ग्रामिण भेगमा पनि संक्रमित हुनेको संख्या बढ्न थालेको भन्दै ग्रामिण भेगका संक्रमितले अस्पताल जान एम्बुलेन्स पाइरहेका छैन । तसर्थ आफूले प्रयोग गरिरहेको सरकारी गाडी नगरभित्रका संक्रमितलाई अस्पतालसम्म र अस्पतालबाट घरसम्म पुर्याउनका लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गर्दछु ।”– विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाले आक्रान्त जनताको सेवालाई सर्वोपरी ठानेर आफू चढ्ने सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरिने घोषणा गरेको जानकारी उनले दिएका छन् । गाडीको आवश्यकता पर्नेले आजकै मितिबाट सिधा उनको मोवाइल नम्वर ९८५४०२९७६९ मा सम्पर्क गर्न समेत शहिदनगरबासीमा अपिल गरेका छन् ।
समाजिक सँजालमा समेत विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखले आफूले चढदै आएको सरकारी सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्नुपर्ने माग उठेको छ । मेयर बरबरियाले आफ्नो सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएपछि चौतर्फी प्रशँसा गरिएको छ ।
शहिदनगर नगरपालिकामा पहिलेदेखि नै एम्बुलेन्स समेत सँचालनमा रहेको भएपनि यस्तो अवस्थामा आफूले चढदै आएको गाडीलाई अर्को एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएपछि जनताप्रतिको लगावलाई दर्साएका छन् ।