सप्तरीको खाँडो नदि व्यवस्थापनकालागि बजेट उपलब्ध गराउन मन्त्री साहको संघ सरकार संग माग

सप्तरी !बर्खा र बाढीका कारण सप्तरीको खाँडो नदीले मध्य र तल्लोतटीय क्षेत्रमा वर्षेनि कटान र डुबानको समस्या उत्पन्न गराउँदै आएको र यस्तो जलउत्पन्न जोखिम न्यूनीकरणका लागि संघ सरकारले आपतकालीन बजेट छुट्याउँदै आएको छ ।
तर, खाँडो नदी नियन्त्रणका लागि सञ्चालित खाँडो नदी व्यवस्थापन आयोजनामा त्यस शीर्षकमा यसपटक बजेट नछुट्याएको यसबाट आकस्मिक रूपमा गर्नैपर्ने नियन्त्रणका प्रयासहरूमा प्रतिकूल असरप्रति मेरो गम्भीर ध्यानाकृष्ट भएको छ ।
बाढीका कारण जिल्लाको दक्षिणी भेग लामो समयसम्म जलमग्न हुँदा जनधनको व्यापक क्षति, विस्थापन तथा आजीविकाजस्ता संकटको सामना गर्नुपर्ने वर्षौंदेखिको पीडादायक परिस्थिति यसपटकको मनसुनमा समेत दोहोरिने निश्चित छ ।

बाढी र पानीले खेतीयोग्य जग्गाको मरुभूमिकरण गर्ने र विभिन्न किसिमका भौतिक संरचनालाई क्षतिग्रस्त गर्दा जनजीविकासँग सम्बन्धित दीर्घकालीन अप्ठ्याराहरू समेत सिर्जना भइरहेका छन् ।
यस्तोमा आकस्मिक विपत् प्रबन्धनका लागि गरिने तटबन्ध तथा ठोक्करहरूको सबलीकरण, अस्थायी तटबन्ध निर्माण तथा पानी निकासका संरचनाहरू बनाउन उपयोग हुने आपत्कालीन बजेट व्यवस्थापन नहुँदा अवश्यम्भावी बर्खा र बाढीका बेला जोखिमस्तर बढ्ने देखिन्छ ।
स्थानीय निकायहरूले सीमित साधनस्रोतबाट प्रभावित बस्ती र परिवाररूलाई सुरक्षित बनाउने तथा तिनको आवधिक भरणपोषण गर्ने काम गरिरहेको सन्दर्भमा बाढीको जोखिम कम गर्न जिल्लामा सञ्चालित संघीय आयोजनामा तत्काल आकस्मिक विपत् व्यवस्थापनका लागि बजेट उपलब्ध गराउन म संघ सरकारसँग आग्रह गर्दछु ।