प्रदेश २ प्रदेशसभा बैठकमा दुई अध्यादेश पेश
जनकपुरधाम- प्रदेश नं २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश गरिएका छन् । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको छ ।अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ ।
सभामुख सरोज यादवले आगामी पुस ८ गते बिहीबार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । सामाजिक विकासमन्त्री साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेश गर्नुभएको हो ।
सुरुमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अध्यादेश पेश गर्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।
पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै बैठक अवरुद्ध गराइएको जानकारी दिनुभयो । यो अध्यादेश अलोकतान्त्रिक रहेकाले यसलाई टेबुल हुन नदिने भन्दै बैठक अवरुद्ध गरिएको थियो । उहाँले अध्यादेश फिर्ता नहुँदासम्म संसद् चल्न नदिने पनि बताउनुभएको थियो ।
सभामुख यादवले सरकारले अध्यादेश ल्याउन पाउने नियम रहेको र कुन स्थितिमा ल्याएको भन्ने कुरा सरकारले जवाफ दिनुपर्ने भन्दै अवरोध नगर्न आग्रह गर्नुभएको थियो ।
लोसपाका सदस्यले अवरोध जारी राखेपछि प्रदेशसभा १५ मिनेटका लागि स्थगित गरी पुनः सुरु भएको बैठकमा अध्यादेश पेश भएको हो ।