धनुषाको शहिदनगरमा महिला तथा युवतीहरुलाई लक्षित गरेर प्रजनन् स्वास्थ्य तथा सेनेटरी प्याड अभिमुखीकरण तालिम सम्पन्न ।
मेरो शरीर मेरो अधिकार–स्वस्थ्य समृद्ध एवं सुन्दर समाज’ मूल नाराका साथ हेल्पिङ्ग ह्याण्डस् नेपाल गौशाला महोत्तरीको आयोजना तथा शहिदनगर नगरपालिकाको आर्थिक सहयोगमा तीन दिवसीय स्वास्थ्य सरसफाई तथा सेनेटरी प्याड अभिमुखीकरण सञ्चालन भएको हो ।
प्रजनन् स्वास्थ्य तथा महिनावारीको समयमा अति आवश्यक सेनेटरी प्याड प्रयोग गर्ने तथा प्रयोगका बिभिन्न विधिहरुबारे बताउन शहिदनगरका प्रायः सबै वडाकै महिला सहभागी हुने गरि ९० जनालाई तालिम दिइएको हो ।
घरायसी कपडाको प्रयोग गर्दा निम्तिन सक्ने स्वास्थ्य समस्या र बजारी प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि शहिदनगरमा सञ्चालन गरिएको मेयर उदय बरबरिया यादवले बताए । घरमै प्याड बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड तथा बजारमा पाईने प्याडको प्रयोग बारेमा तालिममा विस्तृत बुझाउने प्रयास गरिएको छ
। शहिदनगरका प्रमुख उदय बरबरिया यादवले प्याड अभावमा छात्रा तथा महिलाहरुले असुरक्षित रुपमा अन्य सामग्रीको प्रयोग रोक्न तथा प्रजनन स्वास्थ्य बारे ज्ञानको अभिबृद्धि गराउन तालिमको आयोजना गरिएको बताए ।
‘आफ्नै गाउँ घर वा स्कुल कलेजमै पनि सेनेटरी प्याड बनाउन तालिम प्रदान गरिसकिएको र प्याड बारे थप जनचेतना अभिबृद्धि गर्ने उदेश्यका साथ कार्यक्रमको थालनी गरिएको छ । आफ्नो घर छिमेक तथा अन्य आफन्त तथा परिवारका अन्य सदस्यहरुलाई समेत सचेत गराउन तालिम सञ्चालन गरिएको हो ।
’ उनले गाउँको पसलमा प्याड किन्न जान गाह्रो मान्ने तथा प्रजनन स्वास्थ्य बारे खुलेर कुरा गर्न हिच्किचाहट हुनेहुँदा छात्रालाई प्रजनन स्वास्थ्यको ज्ञान सीप सिकाएर प्याडको प्रयोगबारे जानकारी दिने उदेश्यका साथ तालिम सञ्चालन गरिएको बताए ।शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादवले पुरानो शैलीमा अहिलेपनि कतिपय गाउँघरमा प्रजनन् स्वास्थ्य समस्या विकराल रहेको र यसको प्रमुख कारण ज्ञान र चेतनाको अभाव रहेको बताए ।
उनले परापूर्वकालमा फोहर कपडाले महिनाबारी भएको बेला प्रयोग गर्ने कारणले धेरै समस्या भोग्नुपर्ने बाध्यता रहेपनि अबको दिनमा त्यसमा सुधार आएको बताए ।
उनले भने, ‘ विद्यालय जाने विद्यार्थी तथा गाउँघरमा चेतनाको कमी भएका किशोरी तथा महिलाको बौद्धिक विकास गर्नुको साथै सबल बनाउन लागि तालिम आयोजना गरिएको हो, अब तपाईहरु प्रजनन् स्वास्थ्य तथा सेनेटरी प्याड अभिमुखीकरण तालिम सिकेर सीपको सदुपयोग गर्नुहोस् र घरमै सकेसम्म सेनेटरी प्याड उत्पादन गरेर व्यवसायिक प्रदान गर्ने काममा लाग्नुहोस् ।’
कार्यक्रममा नेकपाका असतोष कुमार यादवले सहभागिलाई सिप सिकेर व्यवहारमा परिवर्तन गर्न तथा आफ्नो घर–परिवार तथा छरमिमेकमा समेत प्रजनन् स्वास्थ्य र प्याड बारे जनचेतना जगाउन आग्रह गरे ।
उनले तालिममा सिकेका क्षमतालाई बाहिर प्रदर्शन गरेर सिपलाई व्यवसायिकतामा बदल्न आवश्यक रहेको बताए ।विद्यालय र कलेजका छात्रा तथा महिलालाई घरमै भएको कपडाबाट प्याड बनाउने तरिका समेत सिकाउन लागिएको प्रशिक्षक चाँदनी यादवले बताइन् ।
उनले भनिन्, ’सेनेटरी प्याड बजारबाटै किन्नुपर्छ भन्ने छैन् । हामीसँग भएका पुराना सफा कपडाको प्रयोगबाट प्याड बनाउन सक्छौं । त्यसैले घरमै भएका कपडाको प्रयोग गरी प्याड बनाउने तरिका बारे सिकाउन लागेका हौं ।’महिनाबारी भएको बेला विद्यालय जान छोडेका किशोरीको सीप विकास गर्नुको साथै मानसिक र बौद्धिक रुपमा सबल बनाउनको लागि तालिम आयोजना गरिएको हेल्पिङ्ग ह्याण्डस् नेपालका अध्यक्ष गोबिन्द महतोले बताए ।
‘विपदको समयमा महिला तथा किशोरी नै बढी मारमा पर्ने गरेका छन् । समस्यासँगै उनीहरुले महिनावारी सम्बन्धी समस्या झेल्नुपर्छ,’ महतोले, ‘त्यसमा कसैको पनि ध्यान जाँदैन, तर त्यसले पछि असर गर्न सक्छ । त्यसैले हामीले प्रजनन् स्वास्थ्यको बारेमा खुलेर बोल्न र कुरा राख्न तालिम महत्वपूर्ण हुनेछ ।