चन्द्रनगर गाउँपालिकामा पहिलो पल्ट आयुर्वेद स्वास्थ्य सेवा सुरु


सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा आज देखि पहिलो पल्ट आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्ने कार्यको शुभारम्भ भएको छ । यस अधि यस गाउँपालिकामा एलोपेथिक स्वास्थ्य सेवा मात्र उपलब्ध थियो ।

मधेश प्रदेश सरकार, आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा कार्यालयको सहयोग र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा अब देखि नियमित रुपमा प्रदान गर्ने गरी नागरिक आरोग्य सेवा केन्द्र मार्फत चन्द्रनगर गाउँपालिकाका जनतालाई आयुर्वेद स्वास्थ्य सेवाको उद्घाटन गरिएको छ ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले चन्द्रनगर गाउँपालिकाका वडा नम्बर ४ पोखरियामा स्थापना गरी उक्त नागरिक आरोग्य सेवा केन्द्रको उदघाटन गर्नु भयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सर्लाही, मलंगवाको प्रमुख डा. नन्द किशोर कुशवाहाको अध्यक्षता र चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोको प्रमुख आतिथ्यमा आज उक्त नागरिक आरोग्य सेवा केन्द्रको उदघाटन भएको थियो ।

आयुर्वेदिक उपचार प्रणालीसँग जोडिएको आरोग्य केन्द्रमा स्थानीयले निःशुल्क औषधी उपचार पाउने छन् । केन्द्रमा थेरापी तथा योग सेवा समेत सञ्चालनमा ल्याइने छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मलंगवाले सेवा विस्तारको क्रममा चन्द्रनगर गाउँपालिकामा पनि सेवा सुरु गरेको हो

आयुर्वेदिक उपचार प्रणाली नेपाली समाजमा निकै लोकप्रीय र अन्य प्रभाव नपार्ने उपचार प्रणालीको रुपमा रहँदै आएको छ । नागरिक आरोग्य सेवा केन्द्रमा एक जना बैध्य र एक जना कार्यालय सहायकको पदस्थापन भई आज देखि कार्य शुरु गरेको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मलगंवाले २ जना कर्मचारी र आयुर्वेदिक औषधिहरु उपलब्ध गराएको थियो ।

गांउपालिकाले सेवा प्रदान गर्ने भवन, फर्निचर तथा अन्य मसलन्द प्रदान गरेको छ ।

उदघाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थिड., वडा नम्बर २ का वडा अध्यक्ष शभ्मु साह तेली, वडा ३ का वडा अध्यक्ष सीताराम महतो, वडा ४ का वडा अध्यक्ष राजिव सिंह, वडा ६ का वडा अध्यक्ष रामस्वरुप राउत, वडा ७ का वडा अध्यक्ष दीपेन्द्र सिंह लगायतका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी, विभिन्न राजनितिक दलका राजनितिकर्मी तथा समाजसेवीहरुको उपस्थिती रहेको गाउँपालिकाका प्रशासन शाखाका अधिकृत कृष्ण आचार्यले जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button