जनकपुरको मिथिला डिपार्टमेन्टमा भीषण आगलागी


धनुषा- प्रदेश २ को राजधानी जनकपुरधामको मुटु भनेर चिनिने शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टमा भीषण आगलागी भएको छ । जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एक रेष्टुरेन्टमा लागेको भीषण अगलागी ३ घण्टा पश्चात् नियन्त्रणमा आएको छ ।बिहीबार बिहान ११ बजे विद्युत तार सट भई आगलागी भएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

आगलागी हुनेवित्तिकै निभाउन जनकपुधाम उपमहानगरपालिकालाई तत्काल खबर गरे पनि बारुणयन्त्र भने आउन सकेन । उपमहानगरको बारुणयन्त्र न पुगेपछि स्थानीय पालिकासँग रुष्ट हुँदै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

उपमहानगरपालिकासँग भएका दुईवटा बारुणयन्त्र केही दिनदेखि बिग्रेको जवाफ आएपछि अन्य स्थानबाट बारुणयन्त्र मगाइएको थियो । आगो लागेको झन्डै ४० मिनेटपछि जनकपुर विमानस्थलबाट बारुणयन्त्र पुगेको थियो ।

धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका र महोत्तरीको जलेश्वर नगरपालिकाबाट बारुणयन्त्र पुग्दासम्म क्षति भने भइसकेको थियो । झन्डै दुई घण्टाभन्दा बढीको मिहिनेतपछि चार बारुणयन्त्रको मद्दतले आगो निभाइएको थियो । आगलागीबाट झण्डै २ करोड ५० लाख बढीको क्षति भएको डिपार्टमेन्ट सञ्चालकको भनाइलाई उधृत गर्दै एसपी बस्नेतले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button