पूर्वमन्त्री यादव र झासहित ४ जनालाई थप उपचारका लागि काठमाडौं लगियो


जनकपुरधाम : नेकपाले दाहाल–नेपाल समूहको बन्दका क्रममा सडकमा उत्रिएका पूर्व उद्योगमन्त्री मातृका प्रसाद यादव गम्भीर घाइते भएका छन्। जनकपुरको शिव चोकमा प्रहरीसँगको झडपमा पूर्व मन्त्री यादवको अण्डकोषमा गम्भीर चोट लागेको प्रादेशिक अस्पताल जनकपुरले जानकारी दिएको छ।

बन्द सफल पार्न जनकपुरधामस्थित शिव चोकमा निस्किएका पूर्व मन्त्री रामचन्द्र झाको टाउकोमा गहिरो चोट लागेको छ। उनको टाउकोमा चार टाँका हानिएको छ। प्रहरीसँग झडपका क्रममा यादवको अण्डकोषमा गम्भीर चोट लागेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले बताएका छन्। 

प्रहरीसँगको झडपमा उनको तिघ्रामा पनि चोट देखिएको यादवले बताए। यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको नेकपा संघर्ष समिति धनुषाका संयोजक सुधीर साहले बताएका छन्। 

झडपका क्रममा नेकपा स्थायी समिति सदस्य झाको टाउको फुटेको छ। त्यस्तै शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको टाउको र शरीरभरी चोट लागेको छ। उनीहरुलाई पनि थप उपचारका लागि प्रादेशिक अस्पतालबाट काठमाडौं रिफर गरिएको मे.सु. डा. यादवले जानकारी दिए। झडपमा दाहाल-नेपालका जिल्ला अध्यक्ष श्रवण बरबरिया, कारी यादव पनि घाइते भएका छन्। प्रहरीतर्फ जवान लालबाबु राय घाइते भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button