कर्णाली प्रदेश सरकार संकटमा, नेपाल समूहले साथ छाड्दै

मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ


सुर्खेत — नेकपा (एमाले) संसदीय दल कर्णाली प्रदेशको बैठकले सरकारमा सहभागी भएका मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ । दलको बैठकले चैत्र ४ गतेको सरकारलाई दिएको समर्थन फिर्ताको प्रस्तावलाई सदर गर्दै मुख्यमन्त्रीलाई मार्गप्रसस्त गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको बैठकमा माधवकुमार नेपाल समूहका सांसदहरू पनि सहभागी थिए । संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले ३ जना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो । प्रमुख सचेतक गुलावजंग शाहले सोमबारसम्म राजीनामा दिन मन्त्रीहरूले प्रतिवद्धता जनाएको बताए । कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह वुढा मन्त्री छन् ।

बैठकले संसदीय दलको विधान संसोधनका लागि प्रमुख सचेतक शाहको संयोजकत्वमा करवीर शाही र मीना रखाल सम्मिलित विधान मस्यौदा समिति गठन गरेको छ । समितिले मंगलबार बस्ने बैठकमा आफ्नो प्रतिवेदन पेश गर्नेछ । संसदीय दलका नेता यामलाल कँडेलले चैत ४ गतेको निर्णयका आधारमा दल अघि बढेको बताए । ‘मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘पार्टीमा देखिएको गतिरोध हटाउन नेताहरूलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।’

माओवादीद्वारा सांसद पद रिक्त गर्न प्रदेश सभालाई सूचना

नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले दल त्याग गरेको भन्दै प्रदेश सभा सचिवालयमा सूचना दिएको छ । दैलेखबाट निर्वाचित प्रदेश सभा सदस्य रेग्मी नेकपा विभाजनका बेला केपी ओली पक्षमा लागेका थिए । उनलाई एमालेले प्रदेश सचिव पदमा मनोनित गरेको छ । प्रदेश सभा सदस्य पद रिक्त गराउन माओवादीले दल त्यागसम्बन्धी सूचना दिएको जनाएको छ । सभामुख राजबहादुर शाहीले सचिवालयमा पत्र दर्ता भएको र दलसम्बन्धी ऐनअनुसार कानुनीरूपमा अघि बढाइने बताए ।

शनिबार बसेको माओवादी संसदीय दलको बैठकले रेग्मीलाई कारबाही गर्ने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै सांसद वा प्रदेश सभा सदस्यले दल त्याग गरेर अर्को दलको सदस्यता लिएमा पद रिक्त हुने व्यवस्था छ । रेग्मीको पद रिक्त भएमा कर्णालीमा माओवादीको १२ सिट कायम रहनेछ भने एमालेको २० सिट छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button