शिक्षामा सबैको पहुँच र गुणस्तर वृद्धि गर्न सकिए मात्र रूपान्तरण हुने :मेयर प्रदीप कुमार यादव

रौतहट
विकासका बारेमा स्थानीय तहका जनप्रतिनिधिहरूको बुझाइमा भिन्नता छ । तर, सडक लगायतका पूर्वाधारमा लगानी गर्ने काम नै विकास हो भन्ने कुरामा धेरैजसो जनप्रतिनिधिहरूको मतैक्य हुन्छ । अहिले स्थानीय सरकारको मुख्य प्राथमिकताभित्र सडक संरचना तयार गर्नु नै रहेको छ ।

तर, रौतहटको बौधीमाई नगरपालिकाका प्रमुख प्रदीप कुमार यादवको विकास बारेका बुझाइ भने अलिक फरक छ । शिक्षामा सबैको पहुँच र गुणस्तर वृद्धि गर्न सकिए मात्र रूपान्तरण हुने मूलमन्त्र लिएर उहाँ अघि बढिरहनुभएको छ ।
सबै बालबालिका पूर्ण समय औपचारिक दिवा स्कुलमा पढ्नुपर्ने र शिक्षाको गुणस्तर वृद्धि हुनुपर्ने विषयमा केन्द्रित आसमान नेपालका क्रियाकलाप प्रभावकारी हुन थालेपछि शिक्षाक्षेत्रमा काम गर्नुपर्ने प्रेरणा प्राप्त गर्नुभएका प्रमुख यादवले स्थानीय सरकारको भूमिका शिक्षामा सुधार ल्याउन हुनुपर्ने बताउनुभयो ।
आसमान नेपालका गतिविधिका कारण आफ्नो सोचाइमा परिवर्तन आएको भन्दै प्रमुख यादवले स्थानीय तहको बजेट विनियोजन गरिरहँदा शिक्षामा थप लगानी हुनुपर्नेमा आफूलगायतका जनप्रतिनिधिहरू सचेत भएको उल्लेख गर्नुभयो ।
प्रमुख यादव हिजोआज जतिसुकै व्यस्त रहँदा पनि पालिकाभित्रका विद्यालयका अनुगमन गर्ने तथा सुधारका उपायबारे छलफल गर्ने काम भने छुटाइरहनुभएको छैन ।
उहाँका अनुसार सबैभन्दा पहिला १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई औपचारिक रूपमा विद्यालयमा पूर्णकालीन लेखपढ गराउने काम आवश्यक छ ।
जसका लागि सबै सरोकारवालाहरूसँग निरन्तर छलफल गरी कुनै पनि बालबालिका नछुट्ने गरी विद्यालय पठाउने काम अघि बढाइएको छ । विद्यालयबाहिर रहेका बालबालिका बालश्रमिक नै भएको र उनीहरू पढ्न नसक्दा पालिकाकै भविष्य अनिश्चित बन्ने बुझेर प्रमुख यादवले यस अभियानमा जोड दिँदै आउनुभएको छ ।
साथै उहाँले ड्रप आउट हुने समस्या निराकरण गर्नका लागि समेत समुदायमा चेतना प्रवाह गर्ने कार्यमा तदारुकता देखाउँदै आइरहनुभएको छ ।
उहाँले विपन्न, पछाडि पारिएका लगायत सीमान्तकृत समुदायका बालबालिकाहरू औपचारिक पढाइबाट वञ्चित हुनुपर्ने स्थिति रहेकाले त्यस्ता समुदायमा विशेष निगरानी गरी बालबालिकालाई स्कुल पठाउन सहजीकरण गरिँदै आएको जानकारी दिनुभयो ।
प्रमुख यादवले विद्यालयको भौतिक संरचना विस्तार, शिक्षक दरबन्दी तथा विषयगत शिक्षक व्यस्थापन आदि कार्यमा पालिका गम्भीर रहेको पनि बताउनुभयो ।
उहाँले विद्यालयप्रति समुदायको स्वामित्व र अपनत्व वृद्धि गर्न अभिभावकबाट समेत विद्यालय अनुगमन गराउने अभियान थालिएको छ ।