मडवामा टिकटक बनाउने युवक पक्राउ, अन्यलाई खोज्दै प्रहरी


जनकपुरधाम । विश्व प्रसिद्ध जानकी मन्दिरको विवाहमण्डपमा टिकटक बनाउने युवकलाई धनुषा प्रहरीले सोमबार (आज) विहान पक्राउ गरेको छ ।

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको जानकी मन्दिर र विवाहमण्डप (मडवा) मा ईस्लामिक झण्डा बोकेर धार्मिक आस्था खलल हुने गरी भिडियो बनाएको आरोपमा युवकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी बर्ष २२ का अरमान साफीलाई प्रहरीले पक्राउ गरेको हो ।

हिन्दु धर्मावलम्बीहरुको पूजन क्षेत्र सहित पयर्टकीय स्थल रहेको विवाहमण्डपमा ईस्लामिक झण्डा बोकेर टिकटक बनाएको साफीमाथि जनकपुरका गणेश साह नेतृत्वको युवाहरुको समुहले प्रशासनमा निवेदन दिएको थियो ।

आईतबार दिउँसो उजुरी दिएपछि धनुषाका सिडिओ बन्धु प्रसाद वास्तोलाले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख रानाभाटलाई यस्ता गतिविधिमा सँलग्नलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन निर्देशन दिएलगत्तै सक्रियता देखाएका प्रहरीले उनलाई सोमबार बिहानै पक्राउ गरेको हो ।

विवाहमण्डमा पसेर साफीले हातमा ईस्लामिक झण्डा फहराउँदै –“मोहम्मद डे ईज कमिँग” भनेर टिकटकमा भिडियो हालेका थिए ।

समाजिक सँजाल सहित अन्य सँघ सँस्थाहरुले समेत जानकी मन्दिर लगायत अन्य धार्मिक पर्यकीय क्षेत्रभित्र यस्ता गतिविधि गर्नेहरुलाई कानुनी दायरामा ल्याएर यस्ता कार्यप्रति प्रतिबन्ध गर्न माग उठाएका थिए ।

प्रहरीले अन्य युवायुवतिहरुलाई समेत सर्च सुरु गरेको हो । टिकटकमा यस्ता खालका भिडियोहरु बनाएको देखिए वा बनाउने समयमै पक्राउ गरी कारवाही गरिने गरी सक्रियता देखाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button