राउतका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका निमित्त प्रमुख लाई नियन्त्रणमा लिएर दुर्व्यवहार गरे।


जनकपुर! राउतका कार्यकर्ताले बिहीबार जनकपुर स्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर दुर्व्यवहार गरे। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उनीहरूले कुशवाहलाई अर्धनग्न बनाएर हिलो खन्याउँदै नगर परिक्रममा गराएका थिए।

एकाएक लाठी भाला सहित खानेपानी कार्यालयमा आएको समूहले दुव्यर्वहार गरेछन्,” प्रमुख जिल्ला अधिकारी बास्तोलाले हिमालखबरसँग भने, “समस्या भए शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्नेमा उनीहरूले जे गरे त्यो भत्र्सनायोग्य र अमानवीय छ.

राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’ले अलगाववादी नारा त्यागेको जनाउँदै २४ फागुन २०७५ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेको थियो। त्यसपछि जनमत पार्टी गठन गरेका राउतका कार्यकर्ताले जनकपुरमा कानून हातमा लिने प्रयास गरेको देखिन्छ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल राउतको पार्टीले कानूनी राज्य र लोकतन्त्र विरोधी काम गरेको बताउँछन्। “लोकतन्त्रमा शान्तिपूर्ण ढ्रंगले विरोध गर्नु नराम्रो होइन, तर कानून हातमा लिएर कसैको इज्जत र मर्यादामाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन” लालले भने, “युवा शक्ति समाज र देशलाई नै बर्बादीतिर लैजाने बाटोमा लाग्नु दुर्भाग्य हो।”मानवअधिकारकर्मी चरण प्रसाई राउतका कार्यकर्ताको गतिविधिलाई बर्बरताको पराकाष्ठा भन्न रुचाउँछन्। उनी भन्छन्, “यो सभ्य समाजमा कल्पना पनि गर्न नसकिने कुरा हो।

फेरि यस्तै गर्ने चेतावनी.

खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका निमित्त प्रमुख कुशवाहमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका १० जनालाई निःशर्त रिहा गर्नुपर्ने माग राखेर जनमत पार्टीले जिल्ला प्रहरी कार्यालय, धनुषामा धर्ना दिएको छ। आफ्ना कार्यकर्ताले कुशवाहमाथि दुर्व्यवहार गरेर कुनै गल्ती नगरेको जनमत पार्टीका उपाध्यक्ष मो. अब्दुल खानको भनाइ छ।

आफ्नो पार्टी अध्यक्ष राउतको जनकपुरस्थित घर अगाडिको सडक दुरुस्त नराखेको भन्दै उनका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन्। एक महीनादेखि ताकेता गर्दा पनि माग पूरा नभएपछि कुशवाहलाई अर्धनग्न बनाएर घुमाएको  उपाध्यक्ष खान बताउँछन्। उनी भन्छन्, “हाम्रो पार्टी अध्यक्षको मात्रै होइन, स्थानीयको घरको बाटो अगाडि पनि खानेपानी कार्यालयले खाल्डैखाल्डा बनाएर छाडेपछि कारबाही गरेका हौं।

जनमत पार्टीले प्रदेश २ मा भ्रष्टाचार विरोधी अभियान चलाएको र यस्तो गतिविधिलाई निरन्तरता दिने उपाध्यक्ष खानको भनाइ छ। उनले हिमालखबरसँग टेलिफोनमा भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेन वा मुख्यमन्त्रीले जनतालेसँग माफी मागेनन् भने कुशवाहको जस्तो नियती अरुको पनि हुन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button