वडाध्यक्षहरु उपर कुटपिटको प्रयास भएको भन्दै मेयर साह विरुद्ध आन्दोलन


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका केही वडाध्यक्षहरु नगर प्रमुख लालकिशोर साह विरुद्ध मोर्चाबन्दी गरेका छन् ।

उनीहरुले नगरको सरसफाईमा नगर प्रमुख साह गम्भीर नभएको भन्दै आन्दोलन गर्न थालेका छन् । केही वडाध्यक्षहरुले केही दिनदेखि नगर प्रमुखप्रति रुष्ट देखिएका छन् ।

शुक्रबार आफूहरुलाई नगरको समस्या सम्बन्धमा वार्ता गर्नका लागि नगरप्रमुख लालकिशोर साहले बोलाएको तर आफूहरुमाथि कुटपिट तथा दुर्व्यवहारको प्रयास गरेको भन्दै वडाअध्यक्षहरूले आपत्ति जनाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहले जनकपुरधाम नगरमा थुपारिएको फोहोरले दुर्गन्धित बनाएको अवस्थामा आफूहरुले पटक–पटक मेयरसँग आग्रह गरे पनि कुनै वास्ता नगर्दै उल्टै आफ्नो कार्यकक्षमा बोलाएर गुण्डाशैलीमा आफूहरुमाथि नै जाईलागेको आरोप लगाए ।

वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र कुमार साहले शुक्रबार बिहान ११ बजे आफूहरु मेयरसँग भेटघाट गर्न गएको बेला बाहिरबाट लठैत बोलाएर मेयरले आक्रमणको प्रयास गरेको आरोप लगाए

यसअघि पनि जनकपुरधाम नगरको सरसफाई सम्बन्धी कुरा गर्न उपमहानगरको कार्यालयमा जाँदा वडा नम्बर ४ का वडाअध्यक्ष सुदर्शन सिंह र वडा सदस्य पंकज मण्डललाई सरसफाइका कर्मचारीले दुर्व्यवहार गरेका थिए ।

मेयर साहको कार्यकक्षबाट वडाअध्यक्षहरु बाहिर निस्केपछि केहीबेर नगर प्रहरी र उनीहरुबीच धक्कामुक्की समेत भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button