खेसरीलाल नआउँदा बर्जु महोत्सवमा आगजनी र तोडफोड, आधा दर्जन सवारी साधनमा क्षति


सुनसरी — सुनसरीको बर्जु गाउँपालिकाले आयोजना गरेको महोत्सवमा मंगलबार आगजनी र तोडफोड भएको छ ।

गत पुस २२ गतेदेखि संचालन भएको बर्जुमा कोरोनाको ओमिक्रोन भेरिएन्ट संक्रमणलाई मध्यनजर गर्दै सुनसरी जिल्ला प्रशासनले पुस २७ मा भिडभाडको कार्यक्रमहरुमा प्रतिबन्धसहितको आदेश जारी गरेको थियो ।

बर्जु सामुदायिक विकास केन्द्रसमेत सहआयोजक रहेको महोत्सवमा आगजनीबाट नम्बर नखुलेको ४ वटा स्कारपियो, १ सिटीसफारी, एक मोटररसाइकल र १ साइकलमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उच्छृङ्खल समूहले १ हजार वटा प्लास्टकको कुर्सी, स्टेज साउन्ड सिस्टम २ थान र २ वटा जेनेरेटरमा पनि पूर्ण क्षति पुर्‍याएको प्रजिअ यादवले बताए ।

गाउँपालिकाले प्रशासनको आदेशविपरीत महोत्सव जारी राखेको बेला मंगलबार गाउँपालिकाले भारतीय कलाकार नल्याएको भन्दै तोडफोड र आगजनी गरेको प्रजिअ यादवले बताए ।आयोजक गाउँपालिका र बर्जु सामुदायिक विकास केन्द्रले भारतीय भोजपुरी कलाकार खेसरीलाल यादव ल्याउने प्रचार गरेर ३ सयदेखि ५ सय रुपैयाँको टिकट बिक्री गरेको थियो ।

तर ती कलाकार नआएपछि सहभागीहरु आक्रोशित भएर आगजनी र तोडफोड गरेका प्रजिअ यादवले बताए । उनले भने, ‘कोरोना संक्रमण बढेपछि मेला रोक्न भनेर पुस २ गते नै जिल्ला प्रशासनले पत्र दिएको थियो तर अटेर गरेर मेला चालु राखे ।

यो घटनाको जिम्मा गाउँपालिका र बर्जु विकास केन्द्रले लिनु पर्छ ।’कोरोना महामारीको बेला बर्जु तालमा मेला लगाएर पैसा कमाउने धन्दा गर्दा घटना भएको जिल्ला प्रशासनले जनाएको छ । भारतीय कलाकार खेसरीलाल आउन तयार भए पनि कोरोना महामारीका कारण आउन नदिने जानकारी आयोजक पक्षलाई अगाडि नै दिएको जिल्ला प्रहरी कार्यालयका एसपी संजयसिंह थापाले बताए ।

उनकाअनुसार गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीलाई मेला रोक्न बारम्बार चेतावनी दिँदा पनि अटेर गरेर महोत्सव निरन्तर गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button