मिश्रलाई दर्शनशास्त्र र कंसाकारलाई भाषा पुरस्कार

काठमाडौं। नेपाल सामाजिकशास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई र नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकारलाई प्रदान गरिने भएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३५औं बैठकले यस्तो निर्णय गरेको हो ।
यो पुरस्कार दुई लाख राशिको हो।
यस्तै एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेललाई प्रदान गरिने छ। त्यस्तै हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
बैठकले दुई–दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत, आसामका लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने तीन हजार अमेरिकी डलर वा सो बराबरको नेपाल प्रज्ञालङ्कार सम्मान चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गर्ने निर्णय गरेको छ।
यसै गरी बैठकले डा. महेशराज पन्त र प्रा.डा. सूर्यप्रसाद सुवेदीलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यता र आनन्ददेव भट्टराई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ।