विद्यापति डिहको लक्ष्मीसागरको सौन्दर्य बढ्दै
मैथिली भाषा साहित्यका महाकवि विद्यापतिको कर्मस्थलको सौन्दर्य
मैथिली भाषा साहित्यका महाकवि विद्यापतिको कर्मस्थलको सौन्दर्य अभिवृद्धिको काम थालिएको छ । महोत्तरीको पिपरा गाउँपालिकाको बनौलीस्थित विद्यापति डिह (गढ) को सौन्दर्य अभिवृद्धिका लागि प्रदेश नं २ सरकारले पहलकदमी थालेको हो । मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत विद्यापति डिहस्थित लक्ष्मीसागर (तलाउ, पोखरी) को सौन्दर्य बढाउन रु १२ करोड ७८ लाखको लागतमा प्रदेश सरकारले काम थालेपछि बनौली गाउँवासी उत्साहित बनेका छन् ।
“हाम्रो ठाउँको परिचय महाकवि विद्यापतिसँग जोडिएको छ”, बनौलीकै बासिन्दा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ समितिका सदस्य वैद्यनाथ चौधरीले भन्नुभयो, “धेरै कालपछि राज्यले यो ठाउँलाई सम्झेको छ, अब केही काम हुने आस जाग्यो ।” गत मङ्सिर १४ गते मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले शिलान्यास गर्नु भएसँगै लक्ष्मीसागर सौन्दर्य अभिवृद्धिको काम अघि बढेको हो ।
विद्यापति डिहको लक्ष्मीसागर सौन्दर्य अभिवृद्धिको काम तीन वर्षभित्र सम्पन्न हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । लक्ष्मीसागरमा मनोरम घाट निर्माण र उद्यानसहित पूmलको बगैँचा बनाउनेदेखि महाकवि विद्यापतिसँग जोडिएका किंवदन्तीलाई समेत उजागर गर्ने गरी काम हुने मुख्यमन्त्री कार्यालयले स्पष्ट पारेको छ । प्रदेशका आठवटै जिल्लाका महत्वपूर्ण स्थान ओगटेका प्राचीन सम्पदाहरुको जगेर्ना र पर्यटकीय सम्भावना बढाउने लक्ष्य र उद्देश्यसाथ मुख्यमन्त्री स्वच्छता अभियानको काम बढेको प्रदेश नं २ सरकारका प्रमुख सचिव गोकर्णमणि दुवाडी बताउनुहुन्छ ।
पछिल्लोपटक चालु आर्थिक वर्ष २०७७÷७८ मा जनकपुरधामस्थित जानकी मन्दिरको सौन्दर्य अभिवृद्धिबाट स्वच्छता अभियान शुरु गरेको प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न धार्मिक तथा पर्यटकीय महत्वका सम्पदाको संरक्षण र संवद्र्धनको काम थालेको छ । यसै क्रममा महोत्तरीकै बलवा नगरपालिकाको रौजामजारको सौन्दर्य अभिवृद्धि कार्यक्रम पनि अघि बढाइएको छ । विभिन्न आस्था, परम्परा र संस्कृतिसँग जोडिएका धार्मिक एवं पुरातात्विक महत्वका सम्पदाको सौन्दर्य बढाउने अभियानको कामले स्थानीय पहिचान पनि उजागर हुने मुख्यमन्त्री कार्यालयको विश्वास छ ।
प्रदेश सरकारको यो तत्परताले अति प्राचीन धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदाको संरक्षण, संवद्र्धन र पहिचान विस्तारमा सहयोग पुग्ने बनौलीका बासिन्दा संस्कृत साहित्यका विद्वान प्राध्यापक डा गोविन्द चौधरी बताउनुहुन्छ । “प्रदेश सरकारले महाकवि विद्यापतिसँग जोडिएको लक्ष्मीसागरमा काम थालेको छ”, प्रा डा चौधरी भन्नुहुन्छ, “निर्धारित समयमा यो काम सम्पन्न हुनसके बनौलीवासीमा एउटा नयाँ विश्वास पलाउने छ ।”
विगतमा पनि महाकवि विद्यापतिका नाममा विभिन्न संस्था खडा गरेर रकम ‘हजम’ गर्ने प्रवृत्ति देखिएको बनौलीवासी सम्झन्छन् । महाकविका नाममा विभिन्न निकायबाट रकम माग्ने र फिट्टो काम नगर्ने पुरानो प्रवृत्ति नदोहोरियोस् भन्ने बनौलीवासीको आग्रह छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको प्रतिनिधिसभा क्षेत्रमा पर्ने बनौलीको यो कामलाई अहिले यस भेगका बासिन्दा आशाको नजरले हेरिरहेका बनौलीका बासिन्दा ५० वर्षीय नारायण झाको भनाइ छ ।
बनौली मैथिली भाषाका महाकवि विद्यापतिको मुख्य कर्मस्थल मानिन्छ । सन् १३५२ मा तत्कालीन मिथिला अर्थात् विदेह राज्य (हाल, भारतको बिहार राज्यअन्तर्गतको मधुवनी जिल्ला) को मधुवनी निकटको बिस्फी गाउँमा जन्मेका विद्यापति किशोरवयमै बनौली आएर तत्कालीन द्रोणवार (दनुवार) वंशका राजाको सामिप्यमा बस्न थालेका विद्वानहरुको मत छ ।
जीवनका ऊर्जावान समय बनौलीमै बिताउनुभएका कवि कोकिल भनिने महाकवि विद्यापतिका शक्ति उपासना, वीरह, प्रेम र देवी भक्तिधाराका थुप्रै गीत अहिले आधुनिककालका गायकले गाएका छन् । यी गीत आम मैथिलका लागि कर्णप्रिय रहेका महोत्तरीकै मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ । महाकवि विद्यापतिको देहान्त ९६ वर्षको उमेरमा जनकपुरधामकै विद्यापतिनगरमा सन् १४४८ मा भएको हालसम्मका प्रमाणले देखिने उपप्राध्यापक मुक्तिको भनाइ छ ।
बनौलीमा महाकवि विद्यापतिले लेख्ने, गाउने अभ्यास गर्ने थलो नै विद्यापति डिहका नामले चिनिन्छ । अब लक्ष्मीसागर सौन्दर्य अभिवृद्धि अभियानको थालनीसँगै महाकवि विद्यापति सम्बन्धित प्रकाशमा नआएका रचना, उहाँ सम्बन्धित श्रुति र उहाँका जीवनसँग सम्बन्धित घटनालाई खोजी गर्दै जनसमक्ष ल्याउन पनि पहलकदमी लिन आवश्यक रहेको बनौलीवासी बताउँछन् ।