सरकारी कदमको संयुक्त प्रतिवाद गर्ने सर्वदलीय बैठको निर्णय


काठमाडौं, ६ पुस । प्रतिनिधिसभा विघटनकाे विरुद्धमा रणनीति बनाउन सानेपामा सर्वदलीय बैठक सकिएको छ ।

बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सर्वदलीय बैठकमा सहभागी नेताहरुले तीनवटै दलको केन्द्रीय समिति बैठक र आन्तरिक गृहकार्य सकेर सरकारविरुद्ध संयुक्त कार्यक्रम घोषणा गर्ने सहमति बनेको जनाएका छन् ।

बैठकले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको निष्कर्ष निकालेको छ । बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको साझा निष्कर्ष निकालेका हुन् ।

संसद विघटनमा बिषयमा तीनवटै पार्टीले छुट्टाछुटै केन्द्रीय समिति बैठक बस्ने र त्यसपछि पुनः बैठक बसेर आगामी रणनीति तय गर्ने नेकपा नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले संविधानमा नभएको धारणालाई आधार बनाएर संसद् विघटन गरिएको बताए ।

त्यस्तै काँग्रेस केन्द्रीय सदस्य रमेश लेखककाअनुसार नेकपा र काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिवादको पार्टी रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकृकीत नीति लिने निर्णय भएको बताए ।

काँग्रेस पार्टी कार्यालय सानेपामा आयोजित बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका नेताहरुको उपस्थिति  रहेको छ ।

उक्त बैठकमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक काेइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र साेनलको उपस्थिति रहेको छ ।

बैठक अघि काँग्रेस, नेकपा र जसपा सबैले  आन्तरिक छलफल गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button