सभामुखले संसद विघटन नमान्ने, जारी गरे वक्तव्य


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन नमान्ने संकेत दिएका छन्।

बुधवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने संवैधानिक व्यवस्था स्मरण गराएका छन्। साथै संविधानको रक्षार्थ सबै पक्ष संवेदनशील हुने बेला आएको बताएका छन्।

सभामुख सापकोटाको विज्ञपितमा भनिएको छ–संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ। यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो। विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ।’

सभामुखले विज्ञप्तिमा अगाडी भनेका छन्–संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरु, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ।

सर्बोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बिचाराधीन रहेको बेला सभामुखबाट आएको अर्थपूर्ण वक्तव्यले राज्यका अंगहरुबीच टकराव बढ्न सक्ने देखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button