प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैन, देउवासँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा छौँः माधव नेपाल


प्रचण्ड–नेपाल समूह नेकपाका अध्यक्ष माधव कुमार नेपालले व्यवहारमा प्रचण्डजस्तो इमान्दार नेता अरु कोही नभएको भन्दै प्रशंसा गरेका छन् ।

शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले केपी ओलीमा कुनै नैतिकता नभएको भन्दै प्रचण्डजस्तो इमान्दार नेता अरु कोही नभएको बताएका हुन् ।

उनले भने, ‘प्रचण्ड जस्तो व्यवहारमा इमान्दार कोही छैनन् । केपी ओलीमा नैतिकता छैन । अहमता र तानाशाह प्रवृत्ति छ’, उनले भने, ‘प्रचण्ड र मप्रति अवस्विास सिर्जना र भ्रम छर्ने काम केपी ओली गुटले प्रयास गरिरहेको छ । दुई–चारजना चोइटिएर जाँदैमा कुनै असर पर्दैन ।’

नेपालले प्रचण्ड र आफू बीचमा कुनै असमझदारी नरहेको भन्दै आफ्नो गुटबाट दुई चार जना छुट्टिएर जाँदैमा केही फरक नपर्ने समेत बताए ।

संसद विघटनको चारैतिर विरोध भएपछि ओली सबैतिरबाट एक्लिदै गएको र अब विपक्षी दलका सभापति शेरबहादुर देउवासँग मिलेर आफुहरुले संयुक्त आन्दोलन गर्ने तयारी गरिरहेको पनि दाबी गरे ।

‘विध्वंसको अर्को नाम केपी ओलि हो’, उनले भने, ‘देउवासँगको भेटपछि अब कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा छौँ ।’

ओलीलाई जनताले साथ नदिने भन्दै मुल पार्टी आफूहरु भएकाले पार्टीको चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न उनले चेतावानी दिए ।

नेपालले लामो समय ओलीलाई झेलेको भन्दै उनी कहिल्यै नसुध्रिएको र ओलीले अर्काको अस्तित्व स्वीकार्न नसक्ने भएकाले पार्टीभित्र विग्रह आएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button