नेपालमा कोरोना खोप अभियानको तयारी ‘लगभग पूरा’


नेपालमा बुधवारबाट सुरु हुने कोरोनाभाइरस विरुद्धको खोप अभियानका लागि ‘लगभग तयारी सम्पन्न’ भएको अधिकारीहरूले जनाएका छन्। बुधवार बिहान १० बजे यसअघि पनि खोप केन्द्रका रूपमा कायम विभिन्न जिल्लास्थित अस्पतालहरूबाट कोरोनाभाइरसविरुद्ध खोप दिन सुरु गरिने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोखरेलले बीबीसीलाई जानकारी दिए।

“खोपको पहिलो मात्रा कसलाई दिने तय गरिएको छैन। प्रत्येक अस्पताल वा खोप केन्द्रले सरकारको निर्देशनमा आधारित रहेर उपयुक्त व्यक्तिलाई खोपको पहिलो मात्रा दिने छन्,” पोखरेलले भने। खोप अभियानका लागि मङ्गलवार एकैदिन भर्चूअल तथा प्रत्यक्ष कार्यक्रम गरी ७७ जिल्लाका झन्डै एक हजार स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको बताइएको छ।

भारतले १० लाख मात्रा कोभिडका खोपहरू नेपाललाई निःशुल्क उपलब्ध गराएको कोभिशील्ड खोपबाटै अभियान सुरु हुँदैछ। भारतको औषधि नियामक निकायले अक्सफर्ड-आस्ट्राजेनिकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिनलाई अनुमति दिएको छ। नेपालमा प्रयोग गर्न लागिएको खोप २ देखि ८ डिग्री तापक्रममा राख्नुपर्ने र त्यो अनुसारको व्यवस्था सबै स्थानमा भइसकेको अधिकारीहरूले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button