वल्ड भिजन इनटरनेसनलको अर्ध वार्षिक उप्लब्धि
नटराज समाचारदाता असार १४ गते ।
मधेस प्रदेशका महिला,बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिँहले मानव विकास सूचकांङ्कमा प्रदेशको अवस्था मजबुत बनाउन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।उहाँले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका विकासका लागि प्रदेशका विभिन्न जिल्लाहरूमा कार्यरत रहेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूको परिणाम सन्तोषदप्रद रहेको भन्दै सराहना गर्नुभयो ।
जनकपुरधाममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्र्डभिजन इन्टरनेसनल नेपालद्वारा जनकपुरधाममा मंगलबार आयोजित परियोजनासम्बन्धी आवधिक समीक्षा गोष्ठीमा मन्त्री सिँहले महोत्तरी, सर्लाही र रौतहटमा जोखिममा परेका महिला तथा बालबालिकाको स्थितिमा सुधार गर्ने संस्थाको प्रयासबाट अपेक्षित प्रतिफल प्राप्त भइरहेको बताउनुभयो ।
मन्त्री सिँहले सातवटै प्रदेमा मधेस प्रदेशमा अशिक्षाका कारण गरीबीको कहालीलाग्दो अवस्था रहेको स्थितिमा आधाभन्दा बढी सँख्यामा रहेका महिलालाई शिक्षित तुल्याउने, सीप र इलम दिने तथा स्वरोजगारसँग जोडेर आयमूलक कार्यक्रममा सहभागिता गराउने वल्र्ड भिजन इन्टरनेसनल नेपालको काम थप विस्तारित हुनुपर्ने औंल्याउनुभयो ।
उहाँले समाजमा विद्यमान कुरीति र अन्धविश्वासहरूलाई जरैबाट उखेलेर शिक्षामार्फत छोरीहरूको सशक्तीकरण हुनुपर्ने भन्दै सोही कारणले प्रदेश सरकरले बेटी बचाउ, बेटी पढाउ अभियान ल्याएको चर्चा गर्नुभयो ।
प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रप्रसाद यादवले वल्र्ड भिजन इन्टरनेसनल नेपालले विभिन्न विषयगत क्षेत्रमा गरेको कामका बारेमा लाभग्राहीहरूले गरेका विभिन्न क्रियाकलाप उदाहरणीय भएको बताउँदै कामको औपचारिकताभन्दा पनि उपलब्धिमूलक अभ्यास जरुरी भएको बताउनुभयो ।
समाजकल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले नेपालमा दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय तथा ५३ हजारभन्दा बढी राष्ट्रिय गैरसरकारी संस्था क्रियाशील रहेको जानकारी दिँदै अबका दिनमा ती संस्थाहरूले राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले संस्थाहरूका काममा दोहोरोपना र अपारदर्शीता हटाई सहरकेन्द्रित र सफ्टवेयर कामलाई निरुत्साहित गर्दै एकीकृत ढंगले काम अघि बढाउन परिषद्ले नीतिगत सुधारको तयारी गरिरहेको उल्लेख गर्नुभयो । उहाँले संस्थाहरूले स्थानीय तहसँगको समन्वय गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड अपरेसन निर्देशक एवम् निमित्त राष्ट्रिय निर्देशक अनुप राणाले नेपालको स्वास्थ्यसम्बन्धी सूचकाङ्क निकै कमजोर रहेको भन्दै सामाजिक रूपान्तरणका सबै सूचकमा काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्नुभयो ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालले जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार, बालश्रम मुक्त गराई विद्यालय पठाउने, आर्थिक रूपमा अक्षम अभिभावकलाई आयआर्जनका लागि सहयोग गरी तिनका बालबालिकालाई विद्यालय जान सघाउने, बालबालिका पोषण, महिला सशक्तीकरणका लागि वचत समूह गठन, जीविकोपार्जनका क्षेत्रमा समेत गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको छ ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालको कार्यक्रमबाट लाभान्वित दुई बालबालिकाले कार्यक्रम सञ्चालन गरेका थिए ।