नवौं राष्ट्रिय खेलकुद ‘पर्ख र हेर’को नीति

निर्धारित समयअनुसार नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन अन्तिम साता हुने तय छ


काठमाडौं । निर्धारित समयअनुसार नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन अन्तिम साता हुने तय छ । तर, यसपटक कोरोना महामारीका कारण नवौं राष्ट्रिय खेलकुद निर्धारित मिति २१ देखि २८ फागुनमा नहुने सम्भावना बढ्दै गएको छ । गत चैतदेखि कोरोनाले पारेको असर कहिलेसम्म रहन्छ, भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा तीन महिनापछि नवौं राष्ट्रिय खेलकुद नहुने प्रवल सम्भावना छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश कुमार सिलवालले नवौं राष्ट्रिय खेलकुद ‘पर्ख र हेर’ नीतिको स्थितिमा रहेको बताएका छन् ।

तर, झन्डै नौ महिनादेखि कोरोना भाइरस (कोभिड–१९)का कारण खेलकुद प्रायः ठप्प रहेकाले तोकिएको मितिमा नवौं हुनेमा शंका बढेको छ । ‘रोकियो भने कोभिडका कारण रोकिन्छ । हाम्रा कारण रोकिने कुनै कारण छैन ।’ गत वर्ष आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को हिसाब सार्वजनिक गर्ने क्रममा आइतबार सदस्य सचिव सिलवालले भने, ‘स्थिति सहज भयो भने तोकिएको मितिमा हुन्छ । हामी मंसिरको अन्तिम सातामा हुने नहुने जानकारी गराउनेछौं ।

बृहत खेलकुद प्रतियोगितामा छनोट हुन स्थानिय तहमा खेलाडी छनोटको लागि १५ दिन, जिल्लामा एक महिना र प्रदेशमा १ महिनाको खेलाडी छनोटपछि मात्रै खेलाडी छनोट प्रक्रिया पूरा गर्न तीन महिना लाग्ने परिषद्ले जनाएको छ । तर कोरोना महामारीका कारण खेलाडीको छनोट सुरु हुनै सकेको छैन् । सदस्यसचिव सिलवालले नवौं खेलायो भन्नेमा मात्रै नजाने बताएका छन् । भौतिक पूर्वाधारका हिसावले गण्डकी प्रदेश नवौं आयोजना गर्न सक्ने स्थितिमा छ । पोखरामा दुई चीज पौडी पोखरी र सुटिङ रेन्जको अभाव हो । अन्य संरचनाको मर्मत गरेपनि पर्याप्त हुनेछ । ‘पौडी पोखरीको टेन्डर प्रक्रिया अघि बढाएका छौं । तर, त्यो बनिसक्दैन । शुटिङ रेन्जको हकमा भने प्राविधकको सल्लाह अनुसार गर्नेछौं । शुटिङ रेन्ज छ । तर त्यसमा नगर्ने कि भन्ने हो । प्राविधिक टोलीले निरीक्षण गरेर ठीक छ भने गर्छौ र नत्र गर्दै छौं ।’ सिलवालले भने । पुर्वाधार र खेलाडी छनोट मात्र नवौंको समस्या हैन, अहिले स्वास्थ्य सुरक्षा पनि चुनौतीको रुपमा थपिएको छ ।

मुलुकको सबैभन्दा ठूलो खेल मेला वि.स. २०३८ सालमा हरेक दुई वर्षमा आयोजना गर्नेगरी सुरुवात भएको थियो । तर पूर्वाधार अभाव र प्रर्याप्त तयारी अभावमा बृहत् राष्ट्रिय खेलकुद आयोजनाको चार दशक नािघिसक्दा अहिलेसम्म आठ संस्करण मात्र भएको छ । पहिलो २०३८ (काठमाडौं), दोस्रो २०४० (पोखरा) र तेस्रो २०४२ (वीरगन्ज) सालमा आयोजना भएको थियो । चौथो संस्करणका लागि भने १३ वर्ष पर्खन परेको थियो । चौथो नेपालगन्जमा २०५५ सालमा भएको थियो । २०५८ मा पाँचौं आयोजनाको तयारी रहँदा तत्कालिन राजपरिवारको घटनाले स्थागित भएको थियो । त्यसपछि २०६५ सालमा पाँचौं संस्करण आयोजना भएको थियो । छैटौं २०६८ मा धनगढीमा र सातौं पूर्वाञ्चलमा २०७३ मा आयोजना भएको थियो । सातौंमा ५ विकास क्षेत्र र ३ विभागिय टोलीको सहभागिता रह्यो । आठौंमा भने ७ प्रदेश, ३ विभाग र एनआरएनए गर १० टोलीको सहभागिता थियो । आठौंमा १ सय ४० स्वर्ण, ८२ रजत र ६७ कांस्य गरी २ सय ८९ पदकका साथ सेना च्याम्पियन बनेको थियो । आठौंपछि गण्डकी प्रदेशले नवौं बृहत राष्ट्रिय खेलकुदको आयोजना अधिकार पाएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button