त्रिशूलीमा पानीको सतह घट्यो, हराएका दुई बस र दर्जनौँ यात्रुको खोजी फेरि सुरु
चितवनमा नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएका दुई यात्रुवाहक बस र त्यसमा रहेका मानिसको खोजी कार्य शनिवार बिहान फेरि सुरु भएको अधिकारीहरूले बताएका छन्।
घटनाको झन्डै ३० घण्टासम्म पनि त्रिशूली नदीमा खसेर हराइरहेका बस र तिनमा चढेका कम्तीमा ४८ जना फेला पर्न नसकेको अधिकारीहरूले बताएका छन्।
सुरक्षाकर्मीहरूले शुक्रवार दिनभरिको खोजीका क्रममा एउटा बसमा प्रयोग गरिएको पर्दा र केही यात्रुका भन्ठानिएका कपडा मात्रै फेला पारेका थिए।
शुक्रवार साँझ अँध्यारोका कारण रोकिएको खोजी अभियान शनिवार बिहान ८ बजेतिर सुरु भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनका अनुसार खोजी कार्यमा “सबै सामर्थ्य प्रयोग” गरिएको छ।
“सम्भावित सबै स्थानमा खोजी हुन्छ… पानीको तह, बहाव, धमिलोपना कारण अन्यथा भएमा बाहेक हामीले आफ्नो सबै सामर्थ्य खोज र उद्धारमा लगाउँछौँ,” यादवले बीबीसी न्यूज नेपालीसँग भने।
सडकबाट नदीमा खस्दै गर्दा काठमाण्डूबाट गौर जाँदै गरेको बसका तीन यात्रु भने पौडिएर बाँच्न सफल भएका थिए। बाँच्न सफल जोगेश्वर राय, नन्दन दास र सुरज गुप्ता तीनै जनाको स्वास्थ्य सामान्य रहेको बताइएको छ।
बस भएको सम्भावित स्थानबारे अनुमान
शुक्रवार नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाले ‘र्याफ्टिङ बोट’, गोताखोर र पानीभित्र हेर्ने क्षमता भएको ड्रोनसहित विभिन्न उपकरण प्रयोग गरेर त्रिशूली नदीमा खोजी गरेका थिए।
खोजीको क्रममा वीरगन्जबाट काठमाण्डूतिर जाँदै गरेको एन्जल बसको पर्दा र १० वर्षको बच्चाको ट्राउजर फेला परेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।
“शुक्रवार जुन प्रकारका उपकरणहरू प्रयोग गरेर खोजी गरिएको थियो आज पनि तिनै उपकरण प्रयोग गरेर खोजी गरिरहेका छौँ,” प्रमुख जिल्ला अधिकारी चन्द्रदेव यादवले भने।
“हाम्रो देशमा नै भएका उपकरण योभन्दा बढी रहेनछन्। भएकै उपकरणहरू प्रयोग गरेका छौँ।”
बसको पर्दा र बच्चाको कपडा फेला परेसँगै नदीमा खसेका बसहरूको सम्भावित स्थान आकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुसालले बताए।
खोजीकार्यमा कति सुरक्षाकर्मी
भुसालले नदीले बगाएको हुन सक्ने आशङ्कामा त्रिशूलीको तल्लो तटीय क्षेत्रमा पनि खोजी कार्य भइरहेको बताए।
“नदीको तल्लो भागमा बगाएर लगेको छ कि भनेर देवघाटसम्मको ठाउँमा खोजी कार्य भइरहेको छ,” भुसालले भने।
खोजी कार्यमा नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका २५ गरी कुल ५० गोताखोर र उनीहरूको सहयोगका लागि थप २०० सुरक्षाकर्मी परिचलान गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।
त्रिशूली नदीमा पानीको सतह शुक्रवारभन्दा कम हुँदै गएका कारण अधिकारीहरूले अबको खोजी सहज हुने आकलन गरेका छन्।
नदीमा हराइरहेका बसका यात्रुका आफन्तहरू प्रशासनको सम्पर्कमा आउन सुरु गरेको प्रहरीले जनाएको छ। हराइरहेकाहरूमध्ये कम्तीमा सात जना भारतीय नागरिकहरू रहेको प्रारम्भिक विवरण आएका छन्।