आईपीएल अक्सनमा बिकेन सन्दीप

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए ।
उनलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेलेका थिए । उनी त्यो बेला रु ३२ लाखमा अनुबन्ध भएका थिए । सन् २०१९ र सन् २०२० मा दिल्लीको टोलीमा रहनुभएका लामिछानेलाई फुकुवा गरेपछि उहाँ यस पटक अक्सनमा सहभागी भएका थिए ।
सन् २०१८ को आइपीएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइपीएल अक्सनका लागि लामिछाने सहित आठ खेलाडीको नाम लागि सिफारिस गरेको थियो । जसमा विनोद भण्डारी, सोमपाल कामी, करण केसी, शरद भेषवाकर, कुशल मल्ल, अविनाश बोहोरा र दिपेन्द्र सिंह ऐरी रहेका थिए ।
चेन्नईमा आज भएको अक्सनका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दुई सय ९२ खेलाडीको सूची सार्वजनिक गरेको थियो। त्यसमध्ये एक सय ६४ भारतीय खेलाडी छन् भने एक सय २५ विदेशी खेलाडी छन्। तीन खेलाडी एसोसिएट राष्ट्रका छन्।