संसद विघटन विरुद्ध उत्रिन जसपा नेता एवं कृषि राज्य मन्त्री योगेन्द्र यादवको आह्वान ।



ओम प्रकाश यादव
जेठ ८ गते, रौतहट ।

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय सदस्य एवं प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक संसद विघटन गरी चालेको असंवैधानिक र प्रतिगामी कदमको सशक्त प्रतिवाद गर्ने बताएका छन ।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १४९ सांसदको हस्ताक्षरसहित पेश गरिएको दाबीमाथि संविधानतः निर्णय गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसँगको मिलेमतोमा बदानियतपूर्ण रुपमा संसद विघटन गरेको भन्दै राज्य मन्त्री यादवले आक्रोस व्यक्त गरेका छन ।


गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिगमनको पहिलो कदम चालेको तर त्यसलाई सर्वोच्च अदालतले सच्याएको स्मरण गर्दै उनले अहिले त्यसैको शृङ्खला अनुसार अर्को कदम चाल्ने काम गरेको बताए ।


जनता समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री यादवले आज एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रातारात गरेको संसद विघटनलाई कडा विरोध गरेका छन ।
अध्यक्ष यादव सहित अरु संगठनद्धारा जारी गरिएको संयुक्त वक्तव्यमा प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यप्रति घोर भर्त्सना र निन्दा गरिएको छ ।
गत पुस ५ मा केपी शर्मा ओली र विद्यादेवी भण्डारीले आपसमा मिलेर गरेको संसद विघटन पहिलो प्रतिगमन थियो । आज राति (१ बजे) भएको संसद विघटनचाहिँ प्रतिगमन भाग–२ हो । पुनस्र्थापित जनप्रतिनिधिमूलक संस्थाको बलात्कारपछि गरिएको हत्या हो । पहिले संसदको बलात्कार गरियो, पछि हत्या भएको उनले बताए ।
अहिले देशमा कोरोनाको महामारी छ । जनता दिनहुँ अक्सिजन र बेड नपाएर मरिरहेका छन् । सरकारले खोप किनेर ल्याउन सकिरहेको छैन ।

तर, राष्ट्रिय एकताका साथ जनताको उपचारमा ध्यान दिनुपर्ने बेलामा सरकारले देशलाई जबरजस्ती मध्यावघि चुनावतिर धकेलेको राज्य मन्त्री यादवले बताए ।
अर्बौं रुपैयाँ खर्च हुने मध्यावधि चुनाव जनस्वास्थ्यका दृष्टिले पनि र आर्थिक व्ययभारका दृष्टिले पनि अहिले उपयुक्त देखिँदैन । देशको अहिलेको प्राथमिकता भनेको कोरोना महामारीविरुद्ध लड्नु हो । कोरोनाले थलिएका जनतालाई आर्थिक राहतका कार्यक्रममा ध्यान दिनु हो । जनतासँग भोट माग्नुपूर्व उनीहरुलाई बचाउनु अहिलेको प्राथमिकता हुनुपर्ने मन्त्री यादवले बताए ।

निर्वाचन नगराइ आफ्नो निरंकुश सत्ता लब्याउने दूराशयबाट मध्यावधि घोषणा गरेको बताउँदै मन्त्री यादवले यस्तो महामारीमा राजनीतिक जगत र सिंगो राष्ट्रलाई एकतावद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यन्त गैरजिम्मेवार कार्य भएको बताए ।


संसद विघटन गरी प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रपूवर्क देशलाई दुर्घटनातिर लगेको भन्दै उनले जनस्तरबाट प्रतिवाद गर्ने बताए ।
राष्ट्रपतिलाई साथमा लिएर ओली संघीयता र गणतन्त्रलाई समाप्त गर्ने बाटोमा हिँडेको दावी गर्दै मन्त्री यादवले ओलीको यो कदम विरुद्ध फेरी कडा आन्दोलन गर्ने बताएका छन ।
ओली र भण्डारीको सो कदमविरुद्ध एकताबद्ध भइ प्रतिवाद गर्न राज्य मन्त्री यादवले पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई आह्वान गरेका हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button