काठमाडौँ उपत्यकासहित केही ठाउँमा पानी पर्ने सम्भावना


काठमाडौं, चैत ११ गते । आइतबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भई पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो अस्तिको तुलनामा आइतबार मौसम केही सफा हुने भएपनि रातिदेखि पुनः बदली भएर वर्षाको सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभावसहित स्थानीय वायुको प्रभाव तथा भारतको उत्तर पूर्वआसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि मुख्यतया बदली छ ।

मौसमविद् अर्यालले भन्नुभयो, “नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।”

काठमाडौँको अहिलेको वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता पाँच किलोमिटर रहेको छ । आजको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्टिग्रेडको बिचमा रहने मौसमविद् अर्यालले बताउनुभयो ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ  । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button