एकता नसकिँदै फुट्यो नेकपा


७ पुस, काठमाडौं । नेपालमा कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र बिग्रहको बाटो सच्याउने गरी २०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक (नेकपा एमाले र माओवादी केन्द्र) बीच भएको एकीकरण २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी एकता प्रक्रिया नै नटुंगिँदै मंगलबारदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई टुक्रामा विभाजित भएको छ ।

विभाजनसँगै एउटा पार्टीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन् भने अर्का पार्टीको नेतृत्व पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त रुपमा लिएका छन् ।

पार्टी एकताकै बलमा २०७४ को निर्वाचनबाट प्रचण्ड बहुमत पाएको नेकपा अब औपचारिकरुपमै विभाजित हुन पुगेको छ । यो पार्टीले प्रतिनिधिसभाका २७५ मध्ये १७४ र छवटा प्रदेशमा दुई तिहाइ बढी मतसहित सरकारको नेतृत्व गर्न सफल भएको थियो ।

नेकपा विभाजनको रुप एकीकरण भन्दा भिन्न बन्न पुगेको छ । एकातिर ओली अध्यक्षको भूमिकामा एक्लै देखिनु र अर्कातिर प्रचण्ड-माधवले संयुक्त नेतृत्व लिने निर्णय हुनुले पनि विभाजनको रुप एकता भन्दा भिन्न रहेको पुष्टि हुन्छ । अर्थात्, यसपटक मूलतः पूर्वएमाले र पूर्वमाओवादीका रुपमा नभएर पूर्वएमालेचाहिँ दुईतिर विभाजित हुन पुगेको छ ।

ओली र प्रचण्ड-माधव पक्षले मंगलबार गरेको आफूनिकट केन्द्रीय नेताहरुको भेलाको दृश्यले पनि एमाले नै विभाजित हुन पुगेको प्रमाणित हुन्छ । केपी ओलीतर्फ उभिएका लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा मात्रै पूर्वमाओवादी पृष्ठभूमिका उच्च तहका हुन् । उनीहरु नेकपाका स्थायी कमिटी नेता हुन् ।

तर, प्रचण्ड र माधव नेपाल समूहमा भने ठूलो संख्यामा पूर्वएमाले पृष्ठभूमिका नेताहरु छन् । बबरमहलस्थित कार्की ब्याङ्केटमा मंगलबार भएको केन्द्रीय नेताहरुको भेलामा माधव नेपाललाई अध्यक्षको प्रस्ताव गर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल तीनपटक पूर्वएमालेलाई नेतृत्व गरिसकेका नेता हुन् । ओलीसँग सम्बन्ध विच्छेद गर्न तयार रहेका यी नेताहरु केही अपवादबाहेक माधव नेपाल निकटका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button