एमाले संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दै नेपाल-खनाल पक्ष सहभागी नहुने

आज बिहान १०: ३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बस्दै छ भने १२ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

आज बिहान १०: ३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बस्दै छ भने १२ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

आजको संसदीय दलको बैठकमा संसदीय दलको संशोधित विधानको प्रस्ताव छलफलका लागि प्रस्तुत हुनेछ । यसअघि ५ गते बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल राई सदस्य रहेको तीन सदस्यीय विधान संशोधन समिती गठन गरेको थियो ।

आजको बैठकमा नेता बामदेव गौतमसहितका सांसद र नेताहरुको सहभागिता हुने भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा नेता गौतमले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताएका थिए।

नेपाल-खनाल पक्ष दुवै बैठकमा सहभागी नहुने : 

नेकपा एमालेको नेपाल-खनाल पक्ष आजका दुवै बैठक संसदीय दल र  केन्द्रीय कमिटीको बैठकमा नजाने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले संसदीय दल र केन्द्रीय कमिटी बहिस्कार गर्ने निर्णय गरेको हो ।

बैठकले विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखिएको हुनाले त्यसमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिएका छन् ।

बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्न सकिने उनले बताए । नेपाल-खनाल पक्षले अध्यक्ष ओलीले गएको फागुन २८ गते गरेको निर्णय खारेज गर्नुपर्ने माग राख्दै आएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button