जनकपुरको देवपुरा रुपैठामा प्रशासनले लगायो निषेधाज्ञा

जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको देवपुरा रुपैठामा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद वास्तोलाले एक सूचना जारी गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठा गाउँमा एक दिने निषेधाज्ञा लगाएको हो ।
छठ घाटलाई लिएर हिन्दु–मुस्लिमबीच भएको विवादको विषयलाई लिएर शनिबार केही उच्छृँगल व्यक्ति वा समूहले देवपुरा रुपैठामा समाजिक सदभाव बिगार्न खोजेको भन्दै मोटो सँख्यामा प्रहरी परिचालन गरी एक दिने निषेधाज्ञा जारी गरेको हो ।
सूचना अनुसार आज २ः०० बजेदेखि नै भोली रातीको १ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । सो ठाउँमा केही उच्छृँगल व्यक्ति, समूहले समुदायमा हुलहुज्जत गरिरहेको जानकारी पाएलगत्तै कुनै घटना हुन नदिनको लागि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको हो ।
देवपुरा रुपैठाको पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही ६ लेन मार्गको दोबाटो, उत्तरमा हनुमानगर, कुवा रामपुर जानेबाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्बा जानेबाटोमा निषेधाज्ञा जारी गरिएको हो ।

गत कार्तिक २५ गते छठ घाट निर्माणको क्रममा देवपुरा रुपैठास्थित मुस्लिम समुदायका केही उच्छृँगल व्यक्तिहरुले छठ व्रतालुहरुलाई घाट बनाउनबाट रोक लगाएपछि विवाद भएको थियो ।
सोही क्रममा छठ व्रतालुहरुले धार्मिक रयाली निकालेपछि मुस्लिम समुदायका केही उच्छृँगल व्यक्तिहरुले लाठी, भाला, बरछा लिएर अवरोध पुरयाउने प्रयास गरेपछि मोटो सँख्यामा प्रहरी परिचालन गरिएको थियो ।
त्यहाँस्थित रहेको तेलिया पोखरीको विवादले प्रत्येक वर्ष हिन्दु मुस्लिम समुदायबीच विवाद हुँदै आएको छ । पोखरीमा दुवै समुदायका व्यक्तिहरु अतिक्रणम गरेको पाइएको छ ।
सो ठाउँमा घाट बनाएर छठ व्रत गर्न घाट निर्माण गरिरहेको अवस्थामा विवाद भएको थियो । सोही ठाउँमा मुस्लिम समुदायले मासु पसल सँचालन गरिदिएपछि विवाद भएको थियो ।