सिन्धुपाल्चोकमा बाढीको वितण्डा, बेपत्ताको खोजी जारी


काठमाडाैँ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले तटीय क्षेत्रमा ठूलाे क्षति पुर्‍याएको छ । अविरल वर्षाले गर्दा ठूलो बाढी आउँदा मेलम्ची बजारलगायत धेरै बस्तीमा ठूलाे क्षति पुर्‍याएको हाे ।

प्रहरीका अनुसार बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए

ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् तर एकिन विवरण प्राप्त भइसकेको छैन । ‘बिभिन्न ठाउँका पुल र सडक बगेपछि अहिले यातायात सम्पर्क विच्छेद छ,’ डिएसपी सापकोटाले भने, ‘खानेपानी र विद्युत सेवा अवरुद्ध भएको छ ।’ मेलम्ची नजिकै रहेको हेलम्बुमा सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प पनि बाढीले बगाएको जनाएको छ ।

डिएसपी सापकोटाका अनुसार ४५ जना व्यक्ति सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी छ । तर यति जना नै बेपत्ता भए भन्ने कुरा अहिले एकिन भइसकेको छैन । ‘बिहानैदेखि हामी घटनास्थलमा परिचालित भएका छौं,’ उनले भने, ‘अहिले यत्ति नै मानिस बेपत्ता भए भन्ने अवस्था छैन, खोजी गरिरहेका छौं ।’

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको उनले बताए । बाढीको वितण्डापछि स्थानीयहरु अहिले शेरा, नगरपालिका प्रांगण, ईन्द्रावती क्याम्पसमा आश्रय लिएर बसेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button