Trending

बुद्ध एयरको चरम लापरवाही : जनकपुरका लागि चढेका यात्रुलाई पोखरा पुर्याएपछि..


काठमाडौं । निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले चरम लापरवाही प्रदर्शन गरेको छ।

उसो त तोकिए भन्दा निकै ढिला उडान भर्दै आएको आरोप बुद्ध एयर माथि लाग्दै आएको छ।

शुक्रबार उक्त एयरले जनकपुरका लागि उडेका यात्रुलाई पोखरा पुर्याएपछि यात्रुहरूले निकै हैरानी बेहोर्नुपर्यो।

हतारको कामले सोही विमानमा नेकपा केन्द्रीय सदस्य डाचाराज वाग्ले पनि जनकपुर जान लागेका थिए। विमानमा चढेका सबै यात्रु जनकपुरका थिए।

निर्धारित समयभन्दा निकै ढिलो उडेको उक्त विमान जनकपुर आइपुग्यो भन्दै पोखरा पुर्याइएपछि यात्रुहरु आश्चर्यचकित भएका थिए।

‘२ बजे उड्ने भनेको ३:१५ मा उड्यो। एयर होस्टेजले जनकपुर आइपुग्यो भनेपछि हेर्दा पोखरा पुगेका रहेछौं।’ नेता वाग्लेले भने, ‘यो त बुद्ध एयरको हद लापरवाही भयो।’

पोखरामा आधा घण्टा रोकिएपछि त्यसपछि विमान जनकपुरका लागि उडेको थियो।

जनकपुरमा दिउसै पुग्नुपर्ने विमान साँझ ५ बजेमात्रै पुगेको उनले सुनाए।

किन यहाँ ल्याइयो भन्नेबारे एयरहोस्टेजसँग बुझ्न खोज्दा ‘तेल हाल्नका लागि ल्याइएको हो’ भन्ने अनौठो जवाफ दिएको यात्रुहरूले बताएका छन्।

यात्रुलाई असुविधा भएकोबारे बुद्ध एयरले यसमा कुनै प्रतिक्रिया दिएको छैन।

भएको चाँहि के हो त ?

विमानस्थलस्रोतका अनुसार त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङमा कम्पनीबाटै खटिएका कर्मचारीको कमजोरीले यस्तो हुन पुग्यो । बुद्ध एयरको उडान नम्बर ६०७ जहाज पोखराका लागि पुर्वनिर्धारित उडान थियो । सोहीकारण दुबै विमानस्थलका कन्ट्रोल टावरले यो जहाजलाई पोखरा उडानको अनुमति दिए । तर, जहाजमा पोखरा जाने यात्रु बोर्ड गर्नुपर्ने (चढाउनुपर्ने) मा असावधानीबस जनकपुर जाने यात्रु चढाइयो । फलस्वरूपः पोखरा जाने जहाजमा जनकपुरका यात्रु भरेर उडाइयो । यसको सुइँको चालक दलले पनि पाएन ।

हरेक उडानको शुरु र अन्तिममा पाइलट र एयर होस्टेसले गन्तब्यबारे जानकारी दिन्छन् । यो उडानका दौरान पक्कै पनि उनीहरुले त्यो जानकारी दिएका हुनसक्छन्। विमान पोखरा पुग्दासम्म पाइलट र एयरहोस्टेसको ‘एनाउन्समेन्ट’मा  यात्रुले किन प्रतिक्रिया दिएननन् त ?   यो विषय भने अचम्म लाग्दो भएको विमानस्थलका प्रमुख गुरागाइँ पनि बताउँछन्।

काठमाडौं विमानस्थलबाट पोखराकै लागि निर्धारित उडान भएका कारण पाइलटको समेत यो उडानमा गल्ति नदेखिएको विमानस्थल स्रोतको भनाइ छ । यद्यपि यस विषयमा छानबिन हुने काठमाडौं विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

पोखरा विमानस्थलका प्रमुख गुरागाइँका अनुसार जनकपुरका यात्रु बोकेर पोखरा पुगेको जहाजलाइ इन्धन भराएर पुनः काठमाडौंको आकाश हुँदै जनकपुर पठाइएको छ । जहाजले जनकपुरमा सफल अवतरण गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button