क्रिकेटर कुन्दन सिंहको आइतबार बिहान निधन


जनकपुरधाम: मिर्गौलामा गम्भीर समस्या देखिएपछि थलिएका क्रिकेटर कुन्दन सिंहको आइतबार बिहान निधन भएको छ ।

महोत्तरीको जलेश्वर-९ फुल्हटा निवासी सिंहको २५ वर्षको उमेरमा घरमै निधन भएको हो । प्रदेश २ क्रिकेट टिमका ओपनर ब्याट्सम्यान सिंह मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेपछि उनको डायलसिस गरिँदै आएको थियो ।

क्रिकेट एसोसिएसन अफ नेपालले सिंहको निधनबाट स्तब्ध भएको जनाउँदै श्रद्धाञ्जली अर्पण गरेको छ । अभ्यासकै क्रममा मिर्गौलामा समस्या देखिएपछि एक वर्षयता उनी नियमित डायलसिसमा थिए । आर्थिक अवस्था कमजोर भएका उनको रकम संकलन गरेर उपचार भइरहेको थियो । विद्यालय पढ्दै गर्दा बुबा–आमा गुमाएका उनी मामा अनोज सिंहसँग जलेश्वरमा बस्दै आएका थिए ।

राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा उनले चारपल्ट यू–१६, तीनपल्ट यू–१९ र तीनपल्ट खुला प्रतिस्पर्धामा आफ्नो प्रदर्शन देखाएका थिए । दोस्रो प्रधानमन्त्री कप सकेपछि एकेडेमी भर्ना भएका उनी अभ्यासका क्रममा बिरामी भएका थिए । त्यसपछि वीर अस्पताल भर्ना हुँदा उनमा मिर्गौलाको समस्या देखिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button