राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारी दर्ता आज


काठमाडौँ , चैत २७ गते | राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि बुधबार निर्वाचन हुने छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने छ ।

मनोनयन दर्ता कार्यक्रम नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन् ।

राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् । नेकपा (माओवादी केन्द्र) का १७, नेपाली कांग्रेसका १६, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक/एक तथा दुई जना मनोनीत सदस्य छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button