राष्ट्रिय सभा निर्वाचन, आज राती १२ बजेदेखि मौन अवधि शुरु


काठमाडौँ । यही माघ १२ गते बुधवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राती १२बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएको छ ।मौन अवधिमा उम्मेदवारहरूले निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री समेत हटाउनु पर्ने छ । साथै एस.एम.एस, फेसबुक, भाइवर जस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जाल प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न समेत नहुने जनाइएको छ ।

उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न र आचरणहरू पालना गर्न गराउन निर्वाचन आयोगले सबैसँग अनुरोध गरेको छ ।

यसैगरी सो निर्वाचन प्रयोजनका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र वा स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पनि दिएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button