मन्त्री सिंहले गर्दा सक्षम बन्दै मधेस प्रदेशका वृद्धाश्रमहरु


नटराज समाचारदाता धनुषा, जेठ २९ गते ।

जेठा, माइला, साहिँला र काइँला सबै छोरा अर्थोपार्जन गरेर घरपरिवार धानेका छन् ।

तिनका घर छन्, खाउनलाउन सजिलै पुग्छ, छोराछोरी पढ्न हम्मे छैन ।

बीचबीचमा परिवारका सदस्य सबै घुमफिर गर्दा त्यतिसारो असर पार्दैन ।

तर पनि चारभाइ छोराकी आमा लीला ढकाल ९१ सालको उमेरमा पोहोर साल बित्नुभयो । त्यसअघि उहाँ जनकपुरधामस्थित जानकी वृद्धाश्रममा आश्रय लिइरहनुभएको थियो ।

मृत्युशय्यामा हुँदा सौतापट्टिका छोराहरूले नै औषधोपचार गराएको र मृत्युपछि सदगत गरेका थिए ।

तर यो सुखद साइत भने सबै आमाहरूले पाउनुहुन्न ।मधेस प्रदेशका कतिपय वृद्धाश्रमहरूमा छोराबुहारीहरूको हेला असह्य भएपछि आश्रममा आउनुभएको छ ।

आश्रम आउँदाका सुरुवाती दिन उहाँहरूका लागि निकै कठिन थिए । आश्रममा खानबस्न खासै समस्या थिएन ।

तर, आफूले जन्माएका सन्तानहरूले सुख र सम्मान नदिएको पीडा थियो ।

बुढ्यौली शरीर र भाँचिएको मन लिएर घरबाट हिँड्नुपरेको सन्ताप थियो । ‘आश्रममा आउने बेलामा आमाका आँखा कहिल्यै ओभाएनन् । चित्त कसरी नफाट्नु, बुहारीहरू पो पराई थिए ।

नौ महिना कोखमा राखेर जन्माएका छोराहरूले समेत खोजीनीति नगर्नुको दुखाइ हुन्छ,’ आश्रमकी सञ्चालक सीता अधिकारीले भन्नुभयो ।आश्रममा रहनुभएका आमाहरूका यहाँसम्म आइपुग्ने आआफ्नै कथा र व्यथा छन् ।

तर, जम्मै कथामा रुग्न काया लिएर घरका कामकाजमा गोरुझैं नारिँदा पनि छोराबुहारीले दोखबात लगाउने अनि बेलाबेलामा मुटु बिझ्ने गरी नानाथरीका अनुचित शब्द प्रयोग गर्ने दृश्यहरू प्रशस्त छन् ।घरको एक कुनोमा नातिनातिना खेलाउने रहर पुरा गरिरहनुभएका बेला उहाँमध्ये कतिपयलाई नातिनातिना हुर्किसकेपछि छोरोले नै वृद्धाश्रमसम्म ल्याइदिएको मनघाउ अझै आलो छ । जानकी वृद्धाश्रममा तीन वर्षसम्म आश्रय लिनुभएकी तुलसा काफ्लेलाई यो जुनिमा छोरोबुहारीसँग भेट हुने आस उहाँको मरिसकेको थियो ।

धन्न, आश्रमसम्म पु¥याएको छोरोले नै पछि घर फर्काए । ‘अब त आश्रमबाटै आर्यघाटसम्म जाने हो ।

मेरो घरपरिवार भनेकै आश्रम र आफन्त भनेकै यहाँका दिदीबहिनीहरू हुनुहुन्छ,’ काफ्लेले बेलाबेलामा भन्नुभएको कुरा सुनाउँदै आश्रम सञ्चालक अधिकारीले भन्नुभयो, ‘तुलसा आमा सोभग्यशाली हुनुहुन्थ्यो ।

घर फर्किनुभयो । आश्रममा अहिले रहनुभएका आमाहरू असहाय हुनुहुन्छ ।

’गत २०५३ सालमा स्थापना भएको जानकी वृद्धाश्रमका लागि आरम्भिक दिनहरू निकै सङ्घर्षपूर्ण रह्यो ।

स्थानीय तह, सङ्घसंस्था र मनकारीहरूको सहयोगमा सञ्चालित आश्रमका आश्रितहरूका खान्कीको जोरजाम जसोतसो भए पनि पूर्वाधार र मसलन्द अभाव भने सधैँ नै भयो । पछिल्ला दुई वर्षयता त आश्रम संरक्षकविहीन नै बन्यो ।

जसले गर्दा यहाँ आश्रित आमाहरू मिठोमसिनो खाने कुरा त परै जाओस्, कालो चिया खानसम्म पिउन गाह्रो भयो ।

तर, मधेस प्रदेश सरकारले महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेर महिला लक्षित कार्यक्रम कार्यान्वयन गर्ने क्रममा वृद्धाश्रमहरू सञ्चालनका लागि नियमित बजेट व्यवस्थापन गरिदिएपछि प्रदेशका अधिकांश वृद्धाश्रमको अवस्थामा सुधार आएको छ ।

मधेस प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिँहले प्रदेशमा रहेका वृद्धाश्रम, बालआश्रम र सुरक्षित आवासहरूलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत आश्रितहरूलाई भोजन, लत्ताकपडा, औषधिलगायत चिकीत्सकीय सुविधा, मनोसामाजिक परामर्श आदि सेवा मन्त्रालयबाट उपलब्ध गराउने काम भइरहेको बताउनुभयो ।

प्रदेश सरकारले प्रदेशका बालआश्रम र सुरक्षित आवाससँगै वृद्धाश्रमहरूको भौतिक पूर्वाधार मर्मतसम्भार र विकास गरेको भने आश्रमका आश्रितहरूलाई मासिक प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँ खाना र औषधिलगायतका लागि उपलब्ध गराउँदै आएको छ । प्रदेशका धनुषा, सर्लाही, जितपुरसिमरा र ठोरीमा गरी चार ठाउँमा संस्थागत रूपमा वद्धाश्रम सञ्चालनमा छन्

तीमध्ये जनकपुरधामको जानकी वृद्धाश्रम विसं २०५३ सालबाट सञ्चालनमा आएको थियो ।

आश्रितलाई चिउरा र मुरही खाजा पर्ने र बिरामी पर्दा औषधीसमेतको व्यवस्थापन गर्न मुश्किल पर्ने आश्रम सञ्चालनमा सरकारको सहयोग प्राप्त भएपछि सजिलो भएको छ ।

आश्रमलाई खानाका लागि मासिक एक हजार र औषधिलगायत अन्यका लागि पाँच सय गरी महिनाको पन्ध्र सय रुपैयाँ प्रदेश सरकारले प्रतिव्यक्ति दिइरहेको मधेस प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव ठूलेबाबु दाहालले बताउनुभयो ।

उहाँले प्रदेशका आश्रमहरूलाई एक चरण रकम पठाइसकिएको र आश्रितहरूको सँख्याअनुसार मागका आधारमा रकम पठाउने गरिएको उपसचिव दाहालले जानकारी दिनुभयो ।

आश्रममा १८ जना आमाहरूले आश्रय पाउनुभएको छ । आश्रम व्यवस्थापनमा छ कर्मचारी खटिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button